नेपाल बारलाई संवादका लागि प्रधानन्यायाधीशको आव्हान

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले निरन्तर इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज सबै प्रकृतिका मुद्दाको पेशी तोक्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले आफूसमेत दश वटा इजलासमा सुनुवाइका लागि २ सय ९८ मुद्दाको पेशी तोक्नुभएको छ ।
न्यायाधीशहरूको बहिस्कारका कारण केही इजलास नबसेको र केहीमा बन्दीप्रत्येक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुँदा आज ६ वटा मुद्दा मात्र सुनुवाइ भएको छ ।
कानुन व्यवसायीका कारण एउटा इजलासमा बन्दीप्रत्येक्षीकरणको मुद्दा स्थगित भएको छ भने दुई वटा इजलासमा एक÷एक वटा बन्दीप्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीशको इजलासमा पेशी तोकिएका ५ वटा मुद्दामध्ये ४ वटाको सुनुवाइ भएको छ भने एउटा हेर्न नमिल्नेमा परेको छ ।
प्रधानन्यायाधीश जबराले यसअघि दुई दिन आफूलाई इजलासमा नराखे पनि आज भने आफ्नो समेत इजलासमा राख्नुभएको थियो ।
यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई संवादमा आउन आव्हान गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत वर्तमान गतिरोध अन्त्यका लागि संवादमा आउन नेपाल बारलाई आग्रह गर्नुभएको हो ।
न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयनमा अग्रसरता लिने आफू तयार रहेको पनि प्रधानन्यायाधीश जबराले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले राजीनामा मागेको व्यक्तिसँग वार्तामा नबस्ने भन्दै राजीनामाको अर्को विकल्प नरहेको बताउनुभएको छ ।
सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर विरोधमा उत्रिएको बारले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ ।
आन्दोलनलाई देशव्यापी बनाएको नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलन जारी रहने जनाएको छ । बारको ९० वटै इकाईमा धर्नाको कार्यक्रम राखेको बारले उपत्यकाको आन्दोलनलाई सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित बनाएको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन साता यता आन्दोलनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्