सबस्टेशन निर्माण अन्तिम चरणमा

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा र अर्घाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको काम अन्तिम चरणका पुगेको हो ।

सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरूको जडान सम्पन्न गरी परीक्षण समेत भइरहेको छ ।
पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ ।
आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाङिएको छ ।
यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ ।
अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइन मार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नु पर्ने बताउनुभयो ।
“अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ती गएको भन्दै मलाई सिधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौँ” त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ , घिसिङले भन्नुभयो ।

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दे सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगहरूलाई चाहिए जति विद्युत् दिन सकिने बताउनुभयो ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बागलुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो ।
आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बागलुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।








प्रतिक्रिया राख्नुहोस्