मधुमेह रोगको उच्च जोखिममा नेपाल : दैनिक २८ जनाको मृत्यु

चितवन । नेपालमा मधुमेहबाट सरदर दैनिक २८ जनाको मृत्यु भएको पाइएको छ ।
मधुमेह समाज चितवन र मधुमेह स्वयंसेवक समाज चितवनले आज भरतपुर अस्पतालमा संयुक्त रुपमा आयोजना गरेको मधुमेह सम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकहरूले मधुमेहको उच्च जोखिममा नेपाल रहेको बताउनुभएको हो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले नेपालमा बर्षेनी १० हजार जना मधुमेहको कारण ज्यान गुमाउनु परेको बताउनुभयो ।
“विश्वको ७ अर्ब जनसङ्ख्यामा ४५ करोड मधुमेहका बिरामी छन् । थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन”, डा.अधिकारीले भन्नुभयो , “नेपालमा ७ जनामा एक जनामा मधुमेहका रोगी छन् ।”
विश्वमा दक्षिण एशियामा मधुमेहका बिरामी सङ्ख्या र जोखिम बढिरहेको उहाँले बताउनुभयो । “चीनमा ११ करोडमा, भारतमा ७ करोड जनसङ्ख्यामा मधुमेह छ, नेपाल पनि मधुमेहको उच्च जोखिममा छ ” उहाँले भन्नुभयो ।
नेपालमा ३० देखि ७० बर्ष उमेर समूहमा ३० प्रतिशतले मधुमेह रोगको दर बढ्दै गएको उहाँले बताउनुभयो । “वर्षमा एक दिन मधुमेह दिवस मनाउनुपर्छ, ३६४ दिन अपनाउनुपर्छ ।” उहाँले भन्नुभयो ।
नेपाल ८ दशमलव ४ , चितवनमा १४ प्रतिशत मधुमेहका बिरामी
भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टको समन्वयमा एनपीएएल समाज सहितको टिमले भरतपुर महानगरको वडा नम्बर ९ मा रहेका पाँच हजार ४५ जना जनसङ्ख्यामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत मधुमेहका बिरामी भेटिएका हुन् ।
“हामीले न सहर न गाउँजस्तो वडा छनौट गरी सर्वेक्षण गर्दा १४ प्रतिशतमा मधुमेह, २१ प्रतिशत उच्च रक्तचाप , सामान्य मोटोपन २३ प्रतिशत र उच्च मोटोपन ३७ प्रतिशत भएको पाइयो ।” भट्टले भन्नुभयो ।
सो अवसरमा बोल्दै अस्पतालका मेडिकल विभाग प्रमुख डा.प्रकाश खतिवडाले चितवन बसाइसराइको हब भएकोले मधुमेहका बिरामी पनि अन्य जिल्लाभन्दा बढी भएको बताउनुभयो ।
“समाज, समुदाय घुलमिल भयो । गाउँ र गाउँबाट आउने मानिसहरूको पनि बिलासी जीवनशैली देखियो ।” उहाँले भन्नुभयो । दक्षिण एशियामा मधुमेहको राजधानी भारत भएको र यसको सिधा असर नेपालमा परेको डा.खतिवडाको भनाई छ । उहाँका अनुसार इन्सुलिनको सहज पहुँच बिरामी नपुगेको कारण मधुमेहका बिरामीको दर बढ्दै गएको हो ।
अस्पतालका मेडिकल सुपरीटेण्टेण्ड प्रा डा.कृष्ण पौडेलले अस्पतालमा मेडिकल विभागमा आउने मधुमेहका बिरामीको सङ्ख्या ५० प्रतिशतको हाराहारीमा हुँदा औषधिको अभाव हुने गरेको बताउनुभयो ।

“बीमाका बिरामी र अन्य बिरामीको लागि मधुमेहको औषधिको माग बढी छ”, उहाँले भन्नुभयो, “टेण्डर प्रक्रियाबाट औषधी ल्याउनुपर्ने, अस्पतालले आफै सिधै गर्न नमिल्ने भएकोले समस्या भएको हो ।” यसको न्यूनीकरणको लागि उपचारको प्रभावकारितासँगै सचेतनामा बढी जोड दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा २४ वर्षदेखि मधुमेह प्रभावित सोमनाथ अर्यालले मधुमेहको असर बढ्न नदिन दैनिक रुपमा सादा खानपान खानुपर्ने, आधुनिक जीवनशैली त्याग्नुपर्ने , तनाव लिन नहुने , शारीरिक व्यायाम र आध्यात्मिक चेतना भए कम हुने अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रम मधुमेह समाज चितवनका अध्यक्ष यमप्रसाद शर्माको सभापतित्व सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्