तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री शर्माद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

कास्की । अर्थमन्त्री जनार्दन शर्माले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको आज निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । 

विमानस्थल आयोजनाका उप प्रबन्धक कृष्णप्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । आयोजना उप प्रबन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभयो । नहरका माध्यमबाट वर्षाको भल निकासका लागि रु ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । 

त्यस अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button