तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेपलाञ्चोकमा स्थायी बन्ध्याकरणका लागि निःशुल्क शिविर

काभ्रेपलाञ्चोक । जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला भरका विभिन्न स्थानमा रहेका अस्पताल र स्वास्थ्य चौकीमा ‘बृहत् निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर’ सञ्चालन गर्ने भएको छ ।

आज देखि जिल्लाको विभिन्न ८ वटा ठाउँमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । सन्तानको रहर पुगेका इच्छुक पुरुषका लागि भ्याक्सेटोमी र महिलाका लागि मिनी ल्याप सेवा सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज कात्तिके देउराली स्वास्थ्य चौकीमा शिविर बस्ने छ । मङ्सिर ३ गते तेमाल गाउँपालिकाको पोखरीनारायण स्थान स्वास्थ्य चौकी, मङ्सिर ४ गते मेथिनकोट अस्पताल भकुण्डेबेसी, मङ्सिर ६ गते नाला स्वास्थ्य चौकीमा शिविर बस्ने छ । त्यसैगरि मङ्सिर ८ गते पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, मङ्सिर १० गते भुम्लुटार स्वास्थ्य चौकी, मङ्सिर १२ गते कुशादेवी स्वास्थ्य चौकी र मङ्सिर १३ गते धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा बन्ध्याकरण शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लाका स्थानीय तहको समन्वय र मेरी स्टोप ( सुनौलो परिवार नेपाल ) को प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button