तपाईँ सुन्दै हुनुहुन्छः

चरनको चरम अभावले चितवनका मौरी किसान चिन्तित


चितवन । चितवनमा बर्षेनी मौरीको चरन क्षेत्रफल खुम्चिँदै गएको छ । 

व्यावसायिक मौरी किसान वृद्धि हुँदै जानु र चरन क्षेत्र प्रशस्त नहुँदा मौरी किसान मारमा परेका छन् । 

मौरी पालनतर्फ किसानहरूको आकर्षण बढे पनि मौरी पालनका लागि चिउरी, तोरी, रुदिलो लगायतका बोटबिरुवा कम हुँदा चितवनका किसान चिन्तित भएका हुन् ।  चरन अभावका कारण चितवनका किसानले अन्य जिल्लामा लगेर मौरी चराउनुपर्ने बाध्यता छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरी किसान विष्णु भूषाल चरन अभावका कारण केही बर्ष अघिदेखि चरनको लागि दाङ, प्युठान, सर्लाही महोत्तरी जिल्लाहरूमा लगेर चराउँदै आएको बताउनुहुन्छ । “चितवनमा चरन प्रशस्त छैन के गर्नु, अहिले डेढ सय गोला लिएर दाङ आएको छु” उहाँले भन्नुभयो ।  “चितवनमा ६० गोला छाडेर आएको छु ।” 

गत वर्षभन्दा यसबर्ष मौसम, मह उत्पादनमा केही सुधार हुने भएता पनि चरनको अभाव सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो  । 

“गोलालाई गाडीमा राखेर बचाएर दाङ ल्याउनुपर्छ, फेरी केही समयपछि फेरी चितवन नै फर्किनुपर्छ ।” उहाँले भन्नुभयो । 

अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान काटेर तोरी लगाउने बेला भएकोले चरनको चरम अभाव भएको उहाँको भनाई छ । 

रत्ननगर नगरपालिका वडा नम्बर १५ का मौरी किसान रोशन पण्डित चरनकै अभावका कारण महको उत्पादन पनि घट्ने बताउनुहुन्छ  । 

“मौरी किसानको सङ्ख्या र गोलाको सङ्ख्या बढेको छ । चरनचाहिँ बर्षेनी घट्दो छ । हामी चिन्तित छौँ ।” चितवनको मौसमको भर नहुने र नियमित हावा पानी आउने भएकोले चरन अभाव हुने उहाँले बताउनुभयो  । 

“अहिले चितवनको मौसम राम्रो छैन । नियमित पानी जस्तै परेको छ”, उहाँले भन्नुभयो, “दाङतिर यो समय चिउरी र तोरी राम्रैसँग फुलेकोले चराउन लैजानुपर्ने बाध्यता छ ।” 

पछिल्लो समय चितवनलगायत प्युठान, रोल्पा लगायतका मौरी किसानहरूले दाङ जिल्लामा मौरी चराउन ल्याएका कारण त्यहाँ पनि चरन अभाव हुन थालेको घोराही नगरपालिका वडा नम्बर४ का मौरी किसान गोपीचन्द्र न्यौपाने बताउनुहुन्छ । 

“अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्युठान , रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ”, उहाँले भन्नुभयो, “मौरीको गोला धेरै भएकोले चरन अभाव भयो ।”

चरन अभाव भएका कारण उत्पादनमा समेत ह्रास आउने उहाँले बताउनुभयो  । “अहिले मौरीले प्रशस्त रस चुस्न पाएका छैन, उहाँले भन्नुभयो, मेरोमा यसपटक उत्पादन ५० प्रतिशत मह उत्पादन घट्छ ।”

कतिपय फलफूल तथा अन्नबालीहरूमा विषादीको प्रयोग गरिएका कारण पनि मह उत्पादनमा ह्रास हुँदै गएको उहाँको भनाई छ । 

नेपाल मौरी पालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकोले गत वर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउनुहुन्छ । 

“अहिले तराईका जिल्लामा चिउरी चाडै फुल्न थालेको छ”, उहाँले भन्नुभयो, “गत साल भन्दा यसबर्ष २० प्रतिशतले बढ्ने लक्षण देखिएको छ ।” 

मौरी किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र अव्यवस्थित विषादीको प्रयोगका कारण किसान र गोलाको सङ्ख्या बढे पनि मह उत्पादनमा भने ह्रास आएको उहाँको भनाई छ । 

मङ्सिरबाट दाङलगायतका जिल्लाहरूमा मह काढ्न सुरु गरिने छ ।  

उहाँका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा देशभर ३५ हजार मेट्रिक टन मह उत्पादन भएको थियो तर पछिल्ला बर्ष यो परिमाण घटेर वार्षिक एक हजार पाँच सय मेट्रिक टनसम्म उत्पादन भयो । यसबर्ष देशभर तीन हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । 

चितवनमा हाल व्यावसायिक किसानको सङ्ख्या साँढे पाँच सयको हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीको गोला रहेका छन् । 

यसैगरी, देशभर ११ हजार मौरी किसान रहेका छन् भने १ लाखभन्दा बढी गोलाबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा मेलिफेरा र सेरेना जातको मौरीबाट मह उत्पादन हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button