कर्मचारी अभावले बास बस्न बाध्य छन् सेवाग्राही

तनहुँ । कर्मचारीको अभावमा समयमा काम हुन नसक्दा जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने सेवाग्राहीहरू मारमा परेका छन् ।
सेवाग्राहीको उपस्थिति धेरै र कर्मचारीको अभाव हुँदा टाढाबाट आउने सेवाग्राहीहरू दमौलीमा बास बसी दुई दिन लगाएर सेवा लिन बाध्य छन् ।
बुधवार बिहान देवघाट गाउँपालिकाकाबाट पासपोर्टको सिफारिसका लागि आएका मनोज थापाले सोही दिन सेवा नपाउँदा बास बस्नु परेको गुनासो गर्नुभयो । बिहान ११ बजेदेखि लाइनमा बस्नुपर्दा काम हुन नसकेकोको थापाको गुनासो छ । उनीजस्तै जिप्रकामा सेवा लिन आउने सेवाग्राहीहरूले समयमा काम नहुँदा बास बसेर सेवा लिन बाध्य भएको गुनासो गरे ।
सेवाग्राहीको सास्तीको विषयमा आफु जानकार भए पनि कर्मचारीको अभावका कारण सेवा प्रवाहमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।
अर्यालले दुई प्रशासकीय अधिकृतसहित चार कर्मचारीको दरबन्दी भए पनि उपलब्ध नहुँदा समस्या भएको जानकारी दिनुभयो । उहाँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागी इलाका प्रशासन स्थापना गरी सेवा दिने तयारी पुरा नहुँदा पनि समस्या भएको बताउनुभयो । ‘‘तीन जना नायव सुब्बा स्तरको कर्मचारी, एक जना खरदार स्तरको कर्मचारी र थप एक जना प्रशासकीय अधिकृत थप गर्ने र दुई इलाका प्रशासन कार्यालय स्थापना गरे मात्रै सेवा सहज बनाउन सकिन्छ’’ उहाँले भन्नुभयो ।उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमा दैनिक एक हजार बढी सेवाग्राही पुग्ने गरेका छन् ।
अहिले अन्य कार्यालयबाट खेताला कर्मचारी खटाएर कार्यसम्पादन गरिएको भए पनि प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर कार्यालयमा बेलुका ६ बजेसम्म सेवा दिने वातावरण सिर्जना गरिएको अर्यालेको भनाई छ ।
सेवाग्राहीको अत्यधिक भिड भएपछि अहिले जिल्ला काराकार तनहुँको प्रमुख ऋषिराम सुवेदीलाई प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । सुवेदीले पनि सेवाग्राहीको अत्यधिक भिड बढेको र कार्यसम्पादनमा समस्या भएको स्वीकार गर्नुभयो । उहाँले दैनिक सात सय बढीको कागजातमा हस्ताक्षर गर्नुपर्दा समस्या भएको बताउनुभयो । ‘हाल दैनिक विभिन्न कामका गरी करिब सात सय जनाको एक्लैले सही गर्नु परेको छ राम्रोसँग नियालेर फाइल हेर्न पाइएको छैन, सही धेरै गर्दा हातै गलेको छ, १५ दिन भयो भीड धेरै भएकोले खाजा खान जान पनि पाएको छैन ।’ उहाँले भन्नुभयो ।
सेवाग्राही र कर्मचारीबिचको तालमेल मिलाउन कठिन भएकोले छिटो काम गरेर भिड घटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । एक जना खरदार काजमा पोखरा रहेको र दुई जना प्रशासकीय अधिकृत हाल नभएकाले खेताला कर्मचारी राख्नु परेको प्रशासन कार्यालयले जनाएको छ । तनहुँभन्दा कम सेवाग्राही आउने कार्यालयमा इलाका प्रशासन स्थापना गरिएकोले तनहुँको लागि पनि सो व्यवस्था गर्न राजनीतिक दलका नेताले चासो राख्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्