नेकपा (माले) को आठौँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ गतेदेखि चितवनमा हुने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माले) को आठौँ राष्ट्रिय महाधिवेशन आउँदो मङ्सिर २७ गतेदेखि २९ गतेसम्म चितवनमा हुने भएको छ । नेकपा (माले) आठौँ राष्ट्रिय महाधिवेशन मूल समितिले आज नारायणगढमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य तथा मूल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले मङ्सिर २७ देखि नारायणगढको नारायणी कला मन्दिरमा मालेको राष्ट्रिय महाधिवेशन गरिने निश्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २७ गते १ बजे महाधिवेशनको उद्घाटन, २८ गते पार्टीका ८ वटा दस्ताबेजमाथि छलफल गर्ने र २९ गते नेतृत्व चयन र पार्टीका २० वटा विभागका पदाधिकारी सहित सदस्यहरूको चयन गरिने छ र सोही दिन घोषणा सभा हुनेछ ।
सो अवसरमा बोल्दै घिमिरेले अबको पार्टीको एजेण्डा पहिलेको भन्दा फरक रहने बताउनुभयो । ‘देशमा अहिले चार खालका शक्ति रहेछन्, उहाँले भन्नुभयो , कम्युनिष्ट शक्ति, प्रजातान्त्रिक शक्ति, वामपन्थी एवं राष्ट्रवादी शक्ति र वैकल्पिक शक्ति , यी सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नेछौँ ।’ नेपाल कम्युनिष्ट पार्टी पटक पटक फुट्ने र विघटन हुँदै आएको भन्दै उहाँले मालेले आगामी दिनमा चार शक्तिको समिश्रण गरी प्रगतिशील लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।
पार्टीका पोलिटव्युरो सदस्य भगवती घिमिरेले देशमा लोकतन्त्र आए पनि हालसम्म कुनै ठोस काम नभएको, जनताले परिवर्तन को अनुभव गर्न नपाएकोले महाधिवेशन पश्चात् एमालेले आफ्नो स्पष्ट खाका तयार पार्ने बताउनु भयो । महाधिवेशनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको र प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत प्रमुख कार्यकारिणी चयन गर्ने र संवैधानिक प्रणाली मार्फत राष्ट्रपति चयन गर्ने पार्टीको मूल एजेण्डा रहेको उहाँको भनाई छ ।
महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधि सहभागी हुने बताइएको छ । यसअघिको महाधिवेशन जस्तै आठौँ महाधिवेशनमा ७५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । महाधिवेशनको कुल खर्च २० लाख रुपैंया हुने अनुमान गरिएको र यसको श्रोत पार्टीका सदस्यको लेवी र स्वतःस्फूर्त सहयोगबाट गरिने स्थायी कमिटी सदस्य दिनानाथ घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्