सातै प्रदेशमा खोप भण्डारण केन्द्र निर्माणमा तीव्रता

काठमाडौँ । सरकारले कोरोना विरुद्धको खोप भण्डारण केन्द्र निर्माणमा तीव्रता दिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थापन गर्ने क्षमता अभाव नभएको प्रष्ट पार्दै थप खोप व्यवस्थापनका लागि सातै प्रदेशमा बनिसकेका भवनमा सामग्री जडान गरी आउँदो जनवरीबाट सञ्चालनमा ल्याउने जनाएको हो ।
सरकारले सातै प्रदेशमा निर्माणको क्रममा रहेका खोप भण्डारण केन्द्रहरू आगामी दुई महिनाभित्र प्रयोगमा आउन सक्ने गरी निर्माण कार्य अगाडी बढिरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोना विरुद्धको खोप भण्डारणमा कुनै समस्या नभएको र आगामी जनवरीसम्म प्रदेशस्तरीय खोप भण्डारण केन्द्र पनि प्रयोगमा आउने जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले खोप भण्डारण क्षमता भएकै कारण गत वर्षदेखि खोप वितरण सहज भएको समेत प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “हामीसँग खोपको व्यवस्थापन गर्ने क्षमता छ, थप क्षमता वृद्धिका लागि अन्य कोल्ड स्टोर पनि बनाउँदै छौ, सातै प्रदेशमा भवन बनिसकेका छन्, आवश्यक सामग्री जडानपछि प्रयोगमा आउँछ ।”
मन्त्री खतिवडाले साढे पाँच लाख खोप पाइपलाइनमा नै रहेको र भण्डारण गर्न सक्ने गरी मात्र खोप ल्याउने बताउनुभयो ।
काठमाडौँ उपत्यकाका १२ वटा सरकारी अस्पतालमा जुनसुकै बेला खोप लगाउने व्यवस्था गरिएको, जनघनत्व बढी भएका सहरी इलाका, चोक, बस स्टेसनमा सरकारले लगातार खोप अभियान सञ्चालन गरिरहेको र खोप केन्द्र नभएको ठाउँमा पनि थप्दै जाने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
मन्त्री खतिवडा भन्नुहुन्छ , “हामीसँग जति क्षमता छ, त्यति नै खोप ल्याउने गरेका छौ, हामीले एकैचोटी दुई करोड ल्याएर भण्डारण गरेको होइन नि, क्षमता अनुसार १५ दिन, महिना दिनमा खोप ल्याउँछौ, प्रयोग गर्दै जान्छौ , सकिँदै जान्छ, खोप ल्याउँदै जान्छौ ।”
स्थानीय तहको माग अनुसार खोप आपूर्ति भइरहेको पनि सरकारले जनाएको छ ।
विभिन्न नाकामा खोप केन्द्र सञ्चालन गरिरहेको र नभएका नाकामा पनि थप गर्दै लैजाने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
खोप अभियानबारे थाहा नपाउने नागरिकका लागि पनि प्रचारप्रसार तीव्र बनाई खोप अभियान प्रभावकारी बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्