एमाले गण्डकीले गर्यो कमिटी विस्तार

कास्की । दशौँ महाधिवेशनको सङ्घारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ ।
साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।
अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेको छ । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० जना थपिएको हो ।
यस्तै, पहिलेको १४ सदस्यीय सचिवालय विस्तार गरेर ६७ सदस्यीय बनाइएको छ । सोमबार बसेको प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
प्रदेश कमिटीमा सबैभन्दा कम मनाङबाट दुई जना र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् ।
यसबाहेक मुस्ताङबाट ११ जना, म्याग्दीबाट १४, बागलुङबाट ४७, पर्वतबाट १५, स्याङ्जाबाट ४६, तनहुँबाट २०, नवलपुरबाट १९, लमजुङबाट ९ र गोरखाबाट १८ जना थपिएका हुन् ।
महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेश कमिटीमा सदस्य थप्दा १३ प्रतिशत मात्र महिला उपस्थित गराएको छ भने सचिवालयमा पनि १० प्रतिशत हाराहारी मात्र महिला समेटेको छ ।
२७ कात्तिकमा महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । गण्डकीका सबैजसो जिल्लामा मतदान अधिकृत खटिएका छन् । भने निर्वाचन प्रक्रिया पनि सुरु भइसकेको छ ।
एमाले विधानअनुसार एक हजार दुई सय सङ्गठित सदस्य भएको निर्वाचन क्षेत्रबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने त्यसपछि प्रत्येक ८ सय सङ्गठित सदस्य थपिँदा एक जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।
गण्डकी प्रदेशमा हाल ७८ हजार ९ सय ३५ जना सङ्गठित सदस्य रहेका छन् जसमा सबैभन्दा धेरै कास्कीमा १७ हजार ४ सय ८६ जना छन् भने सबैभन्दा कम मनाङमा १७९ जना छन् । मुस्ताङमा ५ सयल २५ जना, म्याग्दीमा तीन हजार ७ सय ३७ जना, बागलुङमा पाँच हजार २ सय ५ जना छन् ।
यस्तै, तनहुँमा छ हजार १सय४ जना, लमजुङमा छ हजार ४ सय ३२ जना, पर्वतमा छ हजार ७ सय ६०, गोरखामा सात हजार ६ सय ४४, नवलपुरमा ११ हजार २ सय १५ र स्याङ्जामा १३ हजार ६ सय ४८ जना रहेका प्रदेश कमिटी संयोजक किरण गुरुङले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशबाट समग्रमा १ सय ४६ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदै छन् ।








प्रतिक्रिया राख्नुहोस्