तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मुलगणनाको लागि ८६७ जना गणक र २१० जना सुपरिवेक्षक खटिँदै

चितवन । चितवन लगायत देशभर भोलिबाट दोस्रो चरणको राष्ट्रिय जनगणना २०७८ को मुलगणना हुंँदैछ । चितवनका सातै स्थानीय पालिकाका ९८ वटा वडामा गणनाको लागि ८६७ जना गणक र २१० जना सुपरिवेक्षक खटिदैं छन् । 

४ गणकका लागि एक सुपरिवेक्षक खटाइनेछ ।  यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको तथ्याङ्क कार्यालय, चितवनले जनाएको छ । यसअघि कार्यालयले घर तथा घर परिवारको सूचीकरण गर्ने कार्य सम्पन्न गरिसकेको छ । जिल्ला जनगणना अधिकारी  यज्ञमुर्ती भण्डारीले मुलगणनाको लागि सबै गणक र सुपरिवेक्षकलाई कार्यक्षेत्र खटिन निर्देशन गरिसकिएको  जानकारी दिनुभयो  । 

जनगणनाका लागि स्थानीय तह अनुसार सात वटा जनगणना कार्यालय तोकिएको छ । जसअनुसार भरतपुरमा तीन वटा कार्यालय, इच्छाकामना र कालिकामा १ वटा, रत्ननगर नगरपालिकामा १, राप्ती र खैरहनीलाई हेर्ने गरेर एउटा जनगणना कार्यालय स्थापना गरिएको छ  भने  माडीमा एक वटा कार्यालय स्थापना गरिएको छ । 

जनगणनालाई सफल पार्न  जिल्ला तहदेखि पालिका हुँदै वडा तहसम्म सहजीकरण समिति गठन भएको भण्डारीले बताउनुभयो  ।

उहाँका  अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना अधिकृत सचिव रहने गरी जिल्लामा जनगणना समन्वय समिति निर्माण गरिएको छ । पालिका स्तरमा स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला जनगणना अधिकारीको संयोजकत्वमा सहजीकरण संयन्त्र गठन भएको छ । प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सहजीकरण समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो  ।

गणकले आउँदो मङ्सिरको ९ गतेसम्म कार्यालयमा सबै विवरण बुझाई सक्नुपर्नेछ । भण्डारीका अनुसार २०६८ सालमा गरिएको जनगणना यस पटक गर्न लागिएको जनगणनाको ढाँचा, सूचक र प्रश्नावली फरक र थप गरिएको छ । जस अनुसार प्रथम चरणको जनगणनाको सूचीकरण कार्यमा पारिवारिक विवरणको साथै पशुपक्षीको गणना,व्यक्तिको बैङ्क खाता, बैङ्कमा ऋणको पहुँच,सरकारी अनुदान घर निर्माण लगायतका सूचकहरू समावेश गरिएको छ  । 

दोस्रो चरणको मूल गणनामा व्यक्तिको सबै निजी विवरण पनि समावेश गरिने र सबै  तथ्याङ्क गोप्य राखिने उहाँले जानकारी दिनुभयो  । सरकारको हरेक क्षेत्रलाई सहयोग पुर्‍याउन र नीति निर्माणमा सहज होस भन्ने हेतुले मुलगणनामा सबै विवरण सङ्कलन गर्न लागिएको हो । ‘तथ्याङ्कहरू सही सत्य तथ्य गर्नको लागि हामीले हरेक दिन विवरण रुजु गर्ने , अद्यावधिक गर्ने प्रबन्ध गरिएको छ , भण्डारीले भन्नुभयो  , यसबाट तथ्याकहरु नछुट्ने र दोहोरिने समस्या हुँदैन । ’

मुख्य गणनाको फाराममा  बिशेषत परिचयात्मक खण्ड,पारिवारिक विवरण र व्यक्तिगत विवरणलाई समावेश गरिएका प्रश्नहरू सोधिनेछ । यो पटकको जनगणनामा सामुदायिक प्रश्नावली राखिएको  र सम्बन्धित वडाका अध्यक्ष एवं सचिवबाट आफ्नो वडाका समुदायका जातजाति, बसाइसराइ, संरचना र पूर्वाधार लगायतका विषयहरूलाई समेटिएको प्रश्नावली अनुसारको  विवरण लिइने भण्डारीले जानकारी दिनुभयो । 

यस पटकको मुलगणनामा व्यक्तिको जन्म मिति, पाँच वर्षपछि पनि जन्म दर्ता नभएको बच्चाको विवरण र पुर्खाको भाषा लगायतका विषयहरू समेत प्रश्नावलीमा समेटिएको छ । ‘यो पटकको मुलगणनामा वडा तहसम्म पुगेर हरेक विषयको सूक्ष्म रुपमा गणना लिने कार्य हुन्छ , उहाँले भन्नुभयो, जसले गर्दा हरेक किसिमको विवरण सत्य तथ्य र स्पष्ट होस ।’ 
केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य मन्त्रालयको समन्वयमा यो पटकको मुलगणनामा मातृ मृत्युदर को पनि गणना हुने उहाँले बताउनु भयो । मुलगणना सकिएपछि प्रारम्भिक रुपमा जनगणनाको नतिजा प्रकाशित गर्ने र सबै क्षेत्र, विषय लाई अलग अलग छुटाएर अन्तिम जनगणना सार्वजनिक गरिनेछ । 

कार्यालयका अनुसार २०६८ जनगणनामा चितवनमा ५ लाख ७९ हजार ९८४ जनसङ्ख्या थियो ।  १० वर्षको अन्तरालमा चितवनमा दुई लाख जनसङ्ख्या थपिएर झन्डै ८ लाख जनसङ्ख्या हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button