१ सय २६ वर्ष बाँचिन् सर्लाहीकी धनेश्वरीदेवि

राकेश गुप्ता
सर्लाही । नेपालमा सामान्य मानिसको औसत आयु ७० वर्ष छ । सामान्यतया मानिसहरू एक सय वर्षसम्म बाचेको भन्ने हामीले सुनेका र देखेका छौँ । कतै कतै ११० वर्ष त कतै कतै ११६ वर्षसम्म बाचेको भन्ने समाचार पनि पढेका छौँ।
सर्लाहीमा भने एक महिला १२६ वर्षसम्म बाचेको पाइएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बडकुर्वाका स्थानीय राजी महतो सुडीकी श्रीमती धनेश्वरीदेवि साह सुडी १२५ वर्ष ५ महिना बाच्न सफल भएकी हुन्। उहाँको यही कार्तिक ११ गते निधन भई सकेको छ । उहाँको पवित्र नदी बागमतीमा विधिपूर्वक दाहसंस्कार समेत गरिएको छ ।
उहाँका पति राजीको भने २५/२६ वर्ष अघि नै निधन भएको थियो । उहाँका माइला छोरा तेज नारायण महतोले त परिवारमा कति सदस्य छन् भन्ने पनि आफूलाई यकिन नभएको बताउनुभयो । ५ छोराकी आमा रहेकी धनेश्वरी छोरा र नातिहरूसँगै सगोलमै बस्दै आउनुभएको थियो । जीवित रहँदासम्म उहाँ ठमठम हिँड्ने र बोल्न गर्नुहुन्थ्यो । उहाँलाई देख्ने कसैले पनि उहाँ १२६ वर्षकी हुनुभयो भनेर विश्वास नै गर्दैनथे । उहाँको नागरिकता बनेको थिएन तर धेरै वर्षअघि बनेको भोटलिस्टको रेकर्ड अनुसार उहाँको जन्म वि.सं.१९५३ साल जेठ १५ गते भएको देखिन्छ। भोट लिस्टमा भएको सोही मिति वास्तविक भएको र सोही आधारमा उहाँको उमेर १२६ वर्ष नै भएको उहाँको नाति सुरेश महतोले बताउनुभयो ।उहाँले धनेश्वरी १२६ वर्षकी हुन र उहाँको जन्म वि।सं।१९५३ मै भएको हो भन्ने आफूहरूसँग कागजी प्रमाण भोटलिष्टबाहेक अरू नभएको तर उहाँलाई चिन्ने गाउँलेहरू अझै जीवित रहेको बताउनुभयो । ‘विभिन्न कारणले हजुरआमाको नागरिकता बन्न सकेनछ ।
हामीसँग उहाँको जन्म मिति खुल्ने आधार त्यही भोटलिष्ट मात्रै छ । त्यो भन्दा विश्वसनीय आधार भनेको उहाँलाई चिन्ने उहाँभन्दा ३०÷३५ बर्ष कम उमेरका मान्छेहरू गाउँमा छन् । ती मान्छेहरूसँग सोध्दा थाहा हुन्छ ।’ उहाँले भन्नुभयो, “अर्को कुरा उहाँसहित हामी अहिले पाँच पुस्ता जीवित छौँ । म उहाँको नाति हुँ मेरै नातिनातिना भइसके । परिवारमा हामी १२१ सदस्य छौँ । हजुरआमाको ५ भाइ छोरामध्ये मेरो बुबा र एक जना काकाबाहेक अरू सबै जीवित नै हुनुहुन्छ ।’ ‘गाउँकै जेठो र धेरै बाचेको भएर धनेश्वरलाई गाउँका सबैले भगवान् मान्थे’, स्थानीय ७५ वर्षीय तारा साहले भन्नुभयो । ‘म ३०/३२ को हुँदा देखि नै मैले उहाँलाई देखेको हुँ ।’ तारा साह भन्नुहुन्छ , ‘छिमेकी गाउँमा ११६ वर्ष बाचेको व्यक्ति समेत आफूले धनेश्वरीको उमेर १२६ नै हो भन्नेमा म विश्वस्त छु।’
धनेश्वरीको परिवारमा पनि कोहीसँग मनमुटाब नभएको उहाँकी बुहारीहरू र नातिनिबुहारीहरुले बताउनुभयो । ‘उहाँलाई कुनै प्रकारको रोग थिएन । मज्जाले बोल्ने हिँड्ने गर्नुहुन्थ्यो । हामी कोही पनि बुहारीहरूलाई कैले नराम्रो भन्नु भएन’, बुहारी भागवती देवीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्