साहित्यकार लीलबहादुर क्षेत्रीसहित ३ नेपालीभाषी ‘पद्मश्री पुरस्कार’बाट सम्मानित

काठमाडौं । भारत सरकारले साहित्यकार लीलबहादुर क्षेत्रीसहित तीन नेपाली भाषीलाई प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’बाट सम्मान गरेको छ ।
प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने पद्म विभूषण, पद्य भूषण र पद्मश्री पुरस्कार सोमबार भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामनाथ कोबिन्दले प्रदान गर्नुभएको हो ।
प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भने कोरोना कहरका वितरण गरिएको थिएन । अघिल्लो र यस वर्षका पुरस्कृतहरूलाई सोमबार आयोजित विशेष समारोहबीच पुरस्कृत गरिएको हो ।
अघिल्लो वर्ष क्षेत्री सहित १ सय १८ जनाको नाम पद्मश्रीका लागि घोषणा भएको थियो । यो वर्ष १ सय २ जनाले यो पुरस्कार पाउनुभएको छ ।
भारतको असमका क्षेत्रीसहित सिक्किमका नेपाली भाषी खेलाडी तरुणदीप राई र अर्का नेपाली भाषी सुटिङ खेलाडी जितु राईले पद्मश्री पुरस्कार पाउनुभएको हो ।
भारतको असमका नेपाली भाषी साहित्यकार क्षेत्री शिक्षा र साहित्यमा विशेष योगदान गरेबापत पुरस्कार प्रदान गरिएको हो । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति जगदम्बा पुरस्कार पाइसक्नुभएको छ ।
८९ वर्षीय लेखक क्षेत्रीले ‘ब्रम्हपूत्र छेउछाउ’ कृतिका लागि भारतकै साहित्य अकादमी पुरस्कार पाइसक्नुभएको छ ।पुरस्कार समारोहमा क्षेत्री क्रस खुकुरीको कालो नेपाली टोपीमा सजिनुभएको देखिनुहुन्थ्यो ।
एक अर्ब ३० करोडभन्दा बढी जनसङ्ख्या एको भारतमा नेपाली भाषीले नेपाली भाषा साहित्यमा योगदान गरेबापत पद्मश्री पुरस्कार पाउनुलाई महत्त्वका साथ हेरिएको छ ।
क्षेत्रीका कृतिहरू नेपालको विश्वविद्यालयमा पाठ्यसामग्री रुपमा पढाइँदै आएको छ । साहित्यकार क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलो पटक २०१४ सालमा प्रकाशित भएको थियो । अहिलेसम्म २८ संस्करणमा प्रकाशित भैसकेको ‘बसाई’ २ लाखभन्दा बढी प्रति बिक्री भैसकेको छ भने यो कथामा चलचित्रसमेत बनिसकेको छ । ‘बसाई’ लाई माइकल हट र लारी हार्टसेलले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ । कीर्तिमानी उपन्यासका लेखक लीलबहादुरका कथा, उपन्यास एवं नाट्य कृतिहरू दर्जनौंको संख्यामा प्रकाशित छन् ।








प्रतिक्रिया राख्नुहोस्