‘मुक्त कमैया र कमलरीको व्यवस्थापनमा सरकार प्रतिबद्ध’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुक्त कमैया, कमलरी र सम्बद्ध सरोकारवालासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले मुक्त कमैया र कमलरीको समस्यालाई प्राथमिकीकरण गरेर तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो ।
छलफलमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट आएका कमैया र कमलरीका प्रतिनिधिले लामो समयसम्म कमैया र कमलरीको व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गइरहेको र कमलरी थप पीडामा रहेको बताउनुभएको थियो ।
उहाँहरूले कमलरीको समस्या समाधान नहुँदा बालविवाहको समस्या बढेको, शिक्षाका लागि पर्याप्त रुपमा छात्रवृत्ति नहुँदा बिचमै पढाइ छाड्नुपर्ने अवस्था आएको, होस्टेलबाट निस्कने उमेरका कमलरी जग्गा र घर नभएकाले अब कहाँ जाने भन्ने अवस्था रहेकोमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच आजै मन्त्री श्रेष्ठले सुकुम्वासीसँग सम्बद्ध पक्षसँग पनि छलफल गर्नुभएको छ । त्यस अवसरमा उहाँले महोत्तरीको रामगोपालपुरको गाउँ ब्लकमा रहेका लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण गरिएको र अब देशैभरका गाउँ ब्लकमा रहेका समस्या समाधान गर्दै लालपुर्जा वितरणको काम अगाडि बढाइने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्