तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको थानिमाई मन्दिरमा ९२ वटा फूलको डोली भित्रिए

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ७ वसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक चौथो हप्ताको मङ्गलवार ९२ वटा फूलको डोली भित्रिएका छन् ।

तनहुँसँगै लमजुङ, गोरखा, चितवन, काठमाडौँबाट समेत गरी ९२ वटा फूलका डोली भित्रिएका हुन् । डोलीसँगै ८ हजार २ सय ८० जनाको हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो ।

साथै सोमबार राती २०५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए । आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरी डोली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।

थानिमाई मन्दिरमा भक्तजनहरूको भिड बढ्न थालेको छ । श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो मङ्गलवार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समयमा भक्तजनहरूको भिड बढ्न थालेको हो ।

विशेष गरी सत्यनारायण पूजाको विसर्जन गर्नका लागि फुलका डोली सहित थानिमाई मन्दिरमा पुग्नेहरू अत्यधिक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो ।

यस मन्दिरमा सन्तान प्राप्ति, हराएका परिवारका सदस्य फेला पार्न, जागिर खान लगायतका भाकलसहित देशका विभिन्न स्थानबाट भक्तजनहरू पुग्ने गरेका छन् । मन्दिर जिल्लाको डुम्रे बजार स्थित पृथ्वीराज मार्गबाट १८ किलोमिटरको दुरीमा रहेको छ ।

झण्डै ४५० वर्ष अघि भानु नगरपालिकाको वडा न ७ स्थित कोटथोकमा एक जना महिला र बच्चा हाल मन्दिर रहेको स्थानमा बास बसेको र सोही रात भयानक आँधीबेहरीले जनधनको क्षति भएको जानकारहरू बताउँछन् । सोही स्थानका स्थानीय मान सिं पाटा मगरको सपनामा मन्दिर बनाएर पूजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना पश्चात् समस्या समाधान भएको किंवदन्ती रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button