तपाईँ सुन्दै हुनुहुन्छः

जनगणना गर्न अछाममा ३ सय १ जना गणक खटिए

अछाम।राष्ट्रिय जनगणनाका लागि अछाममा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला जनगणना कार्यालय अछामका अनुसार गणकलाई ४ दिने तालिम दिइसेको र अब सबै तयारी अन्तिम चरणमा पुगेको छ ।

जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको जिल्ला जनगणना कार्यालय अछामका जनगणना अधिकारी प्रकाश विष्टले बताउनुभयो ।

जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि १० स्थानीय तहलाई मध्यनजर गर्दै ५ वटा स्थानीय तहमा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको जानकारी दिनुभयो ।

जिल्लाको मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका हेर्ने गरी साँफेबगरमा अस्थायी कार्यालय स्थापना गरिएको छ ।

मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिका हेर्नेगरि मंगलसैनमा अस्थायी कार्यालय सञ्चालन गरिएको छ, भने कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका हेर्नेगरि विनायकमा कार्यालय स्थापना गरिएका जनगणना अधिकारी विष्टले बताउनुभयो ।

तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकालाई हेर्नेगरि तुर्माखाँदमा कार्यालय स्थापना गरिएको बताइएको छ ।

जनगणना अधिकारी विष्टले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि अछाममा ३ सय १ गणकलाई खटाउने तयारी भइरहेको बताउनुभयो । गणकहरूबाट ५० हजार घरपरिवारबाट विवरण सङ्कलन गरिने बताइएको छ ।

पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको बताउँदै उहाँले गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताउनुभयो ।

२०६८ को जनगणना अनुसार अछामको जनसङ्ख्या २ लाख ५७ हजार रहेको छ । यसअघि ४८ हजार घरधुरी रहेका अछाममा यो पटक ५० हजार घरधुरी पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button