मानार्थ महारथीको सम्मान ग्रहण गर्न सेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीतर्फ जानुभएको छ ।
मङ्गलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ ।

शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने पनि सेनाले जनाएको छ । शर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्