कञ्चनपुरमा पिकनिक स्पोटमा प्रहरीको निगरानी

कञ्चनपुर । कञ्चनपुरमा वनभोज जाने क्रम सुरु भएको छ । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट बालबालिका तथा युवायुवतीहरू वनभोज जाने क्रम सुरु भएको हो ।
देउसी भैलो खेलेर उठेको रकमले दौँतरीसँग वनभोज गएका बेला हरेक वर्ष विभिन्न दुर्घटना हुँदै आएका छन् । दुर्घटनाका कारण ज्यान समेत जाने गरेको छ । बालबालिकाहरू अभिभावक बिना नै वनभोज जाने गर्दछन् । उनीहरूलाई हुनसक्ने जोखिमको बारेमा जानकारी समेत नहुने भएकाले अभिभावकलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जिल्लाका प्रमुख पर्यटकीय र पिकनिक स्पोटका रुपमा परिचित रैटेला, लिंगा र वेदकोट ताल वनभोज क्षेत्रमा प्रहरीको सादा पोसाकमा खटाइने गरेको र आवश्यकता अनुसार गस्ती हुने बताउनु भएको छ ।
स–साना बालबालिकाहरू वनभोज जाने, ताल तलैया र नदीहरूमा नुहाउने गर्नाले डुबेर समेत ज्यान जाने खतरा हुन्छ । सडक प्रयोग गर्दा समेत दुर्घटनामा पर्ने जोखिम हुने भन्दै सचेत रहन आग्रह गरिएको हो । प्रहरीले ट्याक्टर, टिप्पर तथा मोटरसाइकलमा क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेका छन्। ट्राफिक प्रहरीले पनि निगरानी राख्ने उहाँले बताउनुभएको छ ।
कञ्चनपुरमा वनभोज खान जाने ठाँउहरु भनेर तालको छेउ, नदी किनार र चुरे पहाडको फेदीका साथै भन्ज्याङ रोजाइमा पर्ने गरेका छन् । ती सबै ठाउँमा केही न केही जोखिम हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । देउसी खेलेको रकम सामाजिक कार्यमा खर्च गर्ने परिपाटी रहे पनि पछिल्ला वर्षहरूमा वनभोज जाने चलन बढेको छ । त्यसैले वनभोज गएका बेला दौँतरीहरुबीच नै झैँ–झगडासहितका अन्य आपराधिक घटना हुने भएकोले पनि सावधानी अपनाउन आग्रह गरिएको हो ।
वनभोज जाँदा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखिमको समेत खतरा रहेकाले प्रहरीले अभिभावहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ। देउसी भैलोपछि, चुरे फेदीका विभिन्न ठाँउहरुसहित कञ्चनपुरको दोधारा चाँदनी र वेदकोट ताल लगायतका पर्यटकीय स्थानमा वनभोज जाने क्रम सुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्