तपाईँ सुन्दै हुनुहुन्छः

समाजसेवी चौधरीद्वारा पत्रकारका लागि ५१ हजार पुरस्कारको घोषणा

लहान ।  समाजसेवी महेश चौधरीले आफू बाचुन्जेल  पत्रकारहरूलाई प्रत्येक वर्ष जेष्ठ २२ गते पुरस्कार दिने घोषणा गर्नु भएको छ ।

श्रीमतीको स्मरणमा प्रत्येक बर्ष जिल्लाका  एक जना उत्कृष्ट, क्रियाशील पत्रकारलाई नगद रु ५१ हजार पुरस्कार दिने घोषणा गरेको हो । छठ पर्वको उपलक्ष्यमा चौधरीले  निवासमै  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी त्यस्तो घोषणा गर्नु भएको हो ।

नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सिफारिसमा समाजसेवी चौधरीले सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त रकम पत्रकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेको नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले बताउनुभयो  । 

कोरोनाको कारण चौधरीको श्रीमती संगिता कर्माचार्यको २०७८ जेष्ठ २२ गते उपचारको क्रममा अल्पायुमै  निधन भएको थियो ।  
कोभिडको समयमा आफ्नो निजी लगानी र मनकारीहरूको सहयोगमा जिल्लाका करिब ४ हजार लक्षित वर्ग अन्तर्गत  विपन्न परिवारहरूलाई जोडिद्वयले  राहत बाडेका थिए । 

ज्यानको ख्याल नगरी विपन्न परिवारका लागि करोडौँ बराबरको राहत बाँड्दा बाँड्दै चौधरीको श्रीमतीलाई कोरोनाको कारण  मृत्यु भएको थियो  । श्रीमतीको समाजप्रतिको मोहलाई जीवित राख्न हाल सम्म पनि प्रत्येक महिनाको २२ गते चौधरीले विभिन्न सामाजिक कार्यहरू गर्दै आउनु भएको छ । 

पत्रकारिता पेशामा रहेर मात्र जीविकोपार्जन गरिरहेका पत्रकारहरूलाई  सधैँ आर्थिक हिसाबले जोखिम झेल्नु परिरहेकोले कलमजिवी पत्रकारहरूको सम्मानको लागि उक्त पुरस्कारको घोषणा गरेको समाजसेवी चौधरीले बताउनभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button