तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत विवाद : न्यायाधीशहरू इजलास नफर्केपछि सुनुवाइ प्रभावित

File Photo

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कार्यशैलीका विषयलाई लिएर अन्य न्यायाधीश इजलासमा नबसेपछि आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । 

सर्वोच्च अदालतमा आजका लागि तोकिएको ६ मध्ये दुई वटा इजलास बसेको छ । 

प्रधानन्यायाधीश जबराले आफूसहितका ६ वटा इजलासमा पेशी तोक्नुभएको ७ वटा बन्दी प्रत्यक्षीकरण मुद्दामध्ये दुई वटा मुद्दामा सुनुवाइ भएको हो ।

आज न्यायाधीश डा. कुमार चुडालको एकल इजलास र न्यायाधीशद्वय प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मीको संयुक्त इजलासमा एक/एक गरी दुई वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै अघोषित रुपमा निरन्तर इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले इजलास छाडे बन्दी प्रत्यक्षीकरण मुद्दा मात्रै सुनुवाइ गर्ने अडान राख्दै आएका छन् । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एशोसिएसन आन्दोलनमा छ ।   

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारको आन्दोलन जारी
नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले राजनीतिक दलहरूले अदालतलाई उपयोग गर्दासम्म अदालतभित्रको विषय भन्ने गरेको बताउनुभएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज गरेको विरोध सभामा उपाध्यक्ष भट्टराईले न्यायिक प्रक्रिया अवरुद्ध हुँदा समेत दलहरू चुप लागेर बसेको आरोप लगाउनुभयो । 

उहाँले कानून व्यवसायीहरूले जारी राखेको आन्दोलन न्यायालय शुद्धीकरणका साथै राजनीतिक दलहरूको गलत क्रियाकलापविरुद्ध पनि रहेको स्पष्ट पार्नुभयो । 

संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश जबराले सहकर्मी न्यायाधीश र कानून व्यवसायीको विश्वास गुमाइसकेकाले जतिसक्दो चाँडो राजीनामा दिनुपर्ने बताउनुभयो । 

आन्दोलनका कार्यक्रमको ढाँचाका विषयमा देशभरका कानून व्यवसायी र आफ्ना इकाइहरुसँग राय सङ्कलन गरिरहेको नेपाल बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button