तपाईँ सुन्दै हुनुहुन्छः

थप २९ जनामा एचआइभी सङ्क्रमण

स्याङ्जा । स्याङ्जामा थप २९ जनामा एचआइभी सङ्क्रमण देखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआइभी सङ्क्रमण देखिएको हो ।  

सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिनुभयो ।  सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताउनुभयो । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् । 

“हालसम्म १५ जनाले एचआइभी एड्सबाट ज्यान गुमाएका छन्”, उहाँले भन्नुभयो । एचआइभी सङ्क्रमित बिस्तारै खुल्न थालेको जिसी बताउनुहुन्छ । “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ”, उहाँले भन्नुभयो । जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआइभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् । 

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआइभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताउनुभयो । “सङ्क्रमितमध्ये १३३ जनाको गह्रौँ प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको छ”, उहाँले भन्नुभयो । एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button