कलाकारको पहलमा क्यान्सर पीडितलाई साढे ३ लाख बढी रकम सङ्कलन

अछाम । अछाममा कलाकारहरूको पहलबाट क्यान्सर पीडितको लागि साढे ३ लाख बढी आर्थिक सहयोग सङ्कलन गरिएको छ भने पाँच लाख बढीको प्रतिबद्धता आएको छ ।
अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का पदम रोकायाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अछाम जिल्लाका कलाकारहरूले सांस्कृतिक कार्यक्रममार्फत साढे ३ लाख रुपैयाँ बढी रकम सङ्कलन गरेका अभियानका संयोजक जनक साउदले जानकारी दिनुभयो ।
जिल्लाको रामारोशन गाउँपालिकामा २ दिन र जिल्ला सदरमुकाम मङ्गलसेनमा १ दिन गरी तीन दिन सांस्कृतिक कार्यक्रम गरिएको हो ।
क्यान्सरबाट पीडित पदम रोकायाको आर्थिक अवस्था कमजोर भएको र सहयोगको लागि अपिल गरेपछि उहाँको जिवनरक्षाको लागि पश्चिम नेपाल सांस्कृतिक केन्द्र धनगढी, साधना कला केन्द्र अछाम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछाम लगायतका संस्थाले अभियान चलाई रकम सङ्कलन गरेका हुन् ।

क्यान्सर पीडित रोकाया बचाउ अभियान अन्तर्गत रामारोशन गाउँपालिकाका विभिन्न स्थानमा भएका सांस्कृतिक कार्यक्रम मार्फत २ लाख ६४ हजार २ सय २८ रुपियाँ आर्थिक सङ्कलन भएको अभियानका संयोजक साउदले जानकारी दिनुभयो ।
कार्यक्रममा सहयोगीहरूले सहयोग घोषणा गरेका तर रकम उपलब्ध हुन बाँकी करिब ५ लाख रहेको उहाँको भनाई छ । यस्तै जिल्ला सदरमुकाम मङ्गलसेनमा गरिएको सांस्कृतिक कार्यक्रममा १ लाख बढी रकम सङ्कलन भएको छ ।
कार्यक्रममा कलाकार टङ्क तिमिल्सैना, नरेन्द्र रावल, जनक साउद, जनक कार्की, चक्र साउद, रमेश नेपाली, रूपक परियार लगायतका कलाकारले प्रस्तुति देखाएका थिए ।
क्यान्सर पीडित रोकायाको विगत ६ महिना देखि अछामको बयलपाटा अस्पताल, धनगढी माया मेट्रो अस्पताल, नेपालगन्जको भेरी अस्पताल, हुँदै हाल चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म ८ लाख भन्दा बढी पैसा खर्च भैसकेको छ । रोकायाका श्रीमती दुई छोरा र २ छोरी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्