लक्ष्मी पूजाको दिन विद्युत्को अधिकतम माग १ हजार २ सय ७० मेगावाट, विना अवरोध मूलकभर आपूर्ति : प्राधिकरण

काठमाडौँ । यस वर्षको लक्ष्मी पूजाको दिन पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात भएको छ ।
विगतका वर्षहरूमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको र यस दिन भारतबाट हुने आयात शून्यमा झरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १ हजार २ सय ७० मेगावाट पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १हजार ५सय मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १ हजार २ दुई ७० मेगावाट रेकर्ड गरेको जनाएको छ ।
गत वर्ष लक्ष्मी पूजाको दिन पिक डिमाण्ड १हजार १ सय २३ मेगावाट थियो ।
गत वर्षको तुलनामा यस वर्षको लक्ष्मी पूजाको पिक डिमाण्ड १ सय ४७ मेगावाट बढी हो ।
यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३ सय २० दशमलव ६४ मेगावाट रेकर्ड गरिएको छ ।
गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २ सय ९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिले सम्मको पिक डिमाण्ड १ हजार ६ सय १४दशमलव ८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १ हजार ७ सय ५८ दशमलव ८ रेकर्ड गरिएको छ । यो नै अहिले सम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशकहरू सहितको टोलीले स्यूचाटारस्थित भारप्रेषण केन्द्र पुगी लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यस वर्षमा लक्ष्मी पूजाका दिन मूलकभर विना अवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले लक्ष्मी पूजाको दिन ढुक्कसँग बत्ती बाल्न उपभोक्ताहरूलाई आग्रह गरेको थियो ।
प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।








प्रतिक्रिया राख्नुहोस्