ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ ।
आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिह्न बनाई आँगनदेखि भण्डार र ढुकुटीसम्म पुर्याइन्छ र बेलुका यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।

देवी महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गरी दीपावलीका साथ गरगहना, पैसा, धान, चामल, फलफूल, सेल रोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ भने लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।
आज साँझ महिलाहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । परम्पराअनुसार आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ ।








प्रतिक्रिया राख्नुहोस्