तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा एकै दिन ३० लाखको केराको थाम तथा फुलको व्यापार

बीरगंज । लक्ष्मी पूजाको लागि वीरगन्जमा आज एकै दिन करिब ३० लाखभन्दा बढीको केराको थाम तथा फुलहरूको कारोबार भएको व्यापारीहरूले बताएका छन् । 

तराई मधेसमा लक्ष्मीपूजा गर्दा हरेक घर वा पसलको मूल ढोकामा पातसहितको केराको बोट राखेर लक्ष्मीको स्वागत गर्ने चलन रहेको छ । 

बारा र रौतहटबाट वीरगन्जको बजारमा ३० भन्दा बढी ट्याक्टरमा ल्याइएको केराका बोट खरिद बिक्री भएको छ । 

रौतहटको बंकुल, टिकुलीया, बैरिया, बागमती, बाराको बरियापुर र सिम्रौनगढबाट किसान र व्यापारिले केराको बोट बिक्रीका लागि ट्याक्टरमा वीरगन्जमा ल्याएका थिए । 

केराको बोट जोडाको २ सय रुपैयाँमा व्यापारीहरूले बिक्री गरेका छन् । 

त्यसैगरी, सयपत्री, कमल, लगायतका फुलहरूको कारोबार पनि लाखौँको भएको व्यवसायीहरूले दाबी गरेका छन् ।

यसैबिच बीरगंज बजारमा सामान किनमेल गर्न उपभोक्ताहरूको बजारमा घुइँचो लागेको छ । 

प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहटलगायत देश भरीको बजारमा सामान किनमेल गर्न बिहानैदेखि उपभोक्ताहरूको घुइँचो लागेको हो । 

पर्साको वीरगन्जस्थित बिर्ता, आर्दशनगर, मिना बजार, माईस्थान, नगवा, पोखरिया, विन्दवासिनी, बाराको कलैया, प्रसौनी, बरियारपुर, सिम्रौनगढ लगायत सहरी र ग्रामीण भेगका बजारहरूमा बिहानै देखि उपभोक्ताहरूको घुंईचो लागेको छ । 

उपभोक्ताहरूले मिठाई, फलफूल, खानेतेल, माटोको दियो, झालर बत्ती, पानको पात, सयपत्री फुल, मखमली फुल, आलु, प्याज, काउली कोभी, परोल लगायतका सामानहरू किनमेल गर्न उपभोक्ताहरूको घुँईचो लागेको छ । 

लक्ष्मी माताको बासको लागि स्थानीयहरूले बिहानैदेखि आ–आफ्नो घर सरसफाइ व्यस्त भएका थिए भने अपराह्न पछि लक्ष्मीको पुजा आराधनामा जुटेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button