तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार ग्वंगः सिरपा सम्मानबाट प्रकाश र रोदन सम्मानित

भक्तपुर । ग्वंगः सिरपा सम्मान २०७८ बाट ‘अभिवन्द्य’  निबन्ध कृतिका निबन्धकार श्री ओम श्रेष्ठ रोदन र ‘वीरग्रन्थ’ निबन्धका सर्जक तिलक प्रकाश कायस्थलाई प्रदान गरिएको छ । 

भक्तपुरमा साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र कायस्थलाई जनही रु ५० हजार ५ रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र संस्कृतिविद् एवं साहित्यकार तेजेश्वर बाबु ग्वंगःले उक्त पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा कुलपति उप्रेतीले ग्वंगः भक्तपुरको मात्र नभएर मुलुकमै निर्बन्ध निबन्ध लेख्ने पहिलो संस्कृतिविद् रहेको र मुलुकभित्र निबन्ध जगतमा पहिलो पटक ठूलो राशिको पुरस्कार स्थापना गरेर उहाँले सह्रानीय कार्य गर्नुभएको बताउनुभयो । 

वरिष्ठ संस्कृतिविद्  तथा साहित्यकार तेजेश्वरबाबू ग्वंगले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात् आफूले जीवनभर पाएका पुरस्कार रकम सङ्कलन गरेर अक्षयकोष खडा गरी ग्वंगः सिरपा सम्मान स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीले पुरस्कारको महत्त्वबारे प्रकाश पार्नुभयो भने पुरस्कृत तथा सम्मानित सर्जकहरूको कृतित्व र व्यक्तित्वबारे प्रा.डा.लक्ष्मणप्रसाद गौतमले चर्चा गर्नुभयो । 

उक्त पुरस्कार सर्जक ग्वंगःले आफ्नो जन्मदिनको अवसर पारेर प्रदान गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button