तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमी उमाको उदाहरण

पाल्पा । तानसेनमा आज भोलि महिला र सफलताको कथाको उदाहरण दिनुपर्‍यो भने धेरैको मुखमा आइहाल्ने नाम हो उमा अर्याल । हुन पनि उमा त्यसै सफल भएकी भने होइनन् । उहाँको लगन, मेहनत र परिश्रमले नै यो सम्भव भएको हो । उमालाई पहिले देख्ने र चिन्ने अहिले झुक्किने गर्दछन् । जीवनको सर्घषको यात्रामा धेरै आरोह अवरोहको यात्रा खेप्नु भएकी उमालाई अहिले सफल उद्यमीको रुपमा चिन्ने गरिन्छ ।  

तानसेन मदनपोखरामा खेती किसानीको भरमा रहेको सामान्य परिवारमा २०३९ सालमा जन्मिनुभएकी उमाले गाउँकै शारदा मा.विमा कक्षा १० सम्म अध्ययन गर्नुभयो । उमा १७ वर्षको उमेरमै आफ्नै गाउँका गोपाल अर्यालसँग वैवाहिक बन्धनमा बाँधिन पुग्नुभयो । जनजातिको छोरीले बाहुनको छोरासँग विवाह गरेपछि सामाजिक र जातीय विभेद समेत सहनुपर्‍यो । तर अन्तरजातीय विवाहका कारणले नै समाजमा मात्र नभई जिल्लामै आफ्नो राम्रो पहिचान बनाउन सफल भएको अर्याल दम्पतीको अनुभव छ । 

सघंर्षको जीवनमा धेरै अनुभव बटुलेकी उमालाई आज भोलि नामले भन्दा पनि आफूले उत्पादन गरेको उत्पादित बस्तु नारी सेनेटरी प्याडको नामले धेरैले चिन्ने गरेका छन् । विवाह गरेको केही समय पछि आफ्नै घरमा खाजा नास्ताको पसल सञ्चालन गरिन । १२ सयको लगानीले होटलले पनि सन्तोष दिएन । सानै देखि महिलाले पनि सामाजिक उत्तरदायित्व मात्र होइन । नेतृत्व पनि लिनु पर्दछ भन्ने भावना पाल्नुभएकी उमा नभन्दै त्यति बेलाको नेपालकै नमुना सामुदायिक वन मूल गैरा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष बन्नुभयो । त्यति बेला बनको अध्ययन अवलोकन गर्न आउनेहरुबाट शुल्क लिने चलन थियो । एक दिन मेरो प्रस्तुति देखेर भ्रमणमा आउनेहरूले बिना रसिदको ५ सय रुपैयाँ दिए । पैसा नभएको बखतमा यसरी यति पैसा पाउँदा खुसीको सीमा नै नरहेको उहाँसँग अनुभव छ । 

उमाले घरायसी कामसँगै गोठको बस्तु भाउलाई घाँस कुडोको व्यवस्थापन गर्नु पर्ने जिम्मेवारीसँग झुम्साबाट कम मूल्यमा कुखुराको मल उठाएर गाउँमा ल्याएर पनि बेच्नुभयो । त्यस्तै दाङबाट तोरी, बेसार, तोरीको तेल ल्याएर गाउँमै बिक्री गर्नुभयो । तर उमाको कामलाई हाम्रो समाजले त्यस माथि पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरेको उमासँग गतिलो बुझाई रहेको छ । 

उहाँले दैनिक दुई घण्टा पैदल हिँडेर विकास शिक्षाको तालिम लिनुभयो । उमा तालिम पछि तालिम दिन सक्षम हुनुभयो । त्यो पनि लामो समय सम्म अडिएन । काम र दामको खोजी गर्दा गर्दै तानसेनमा ब्युटिपालरको तालिम समेत लिनुभयो । “मैले पुरुषको पनि कपाल काट्न जान्ने भए । गाउँका पुरुषहरूको पनि कपाल काटेकी छु ।”उमाले भन्नुभयो । 

उहाँले २०६९ सालमा तानसेनमा सिरक डसनाको व्यापार सुरु गर्नुभयो । “कपासबाट बनेको सामाग्रीको व्यापारको सुरुवात गरियो यसैमा कपासबाट अरू के के बन्दछ जुन कुरा तानसेनमा छैन त्यो बस्तु को खोजी गर्न थाले ।” उमाले भन्नुभयो । त्यही खोज्ने क्रममा कल्पनामा सेनेटेरी प्याड आयो । 

व्यापारी भन्दा उद्यमी बन्ने चाहाना सानै देखि भएकाले नभन्दै यो कसरी कहाँ बनाउँछन् भनेर खोजी गर्न थालेपछि खोज्दा भेटियो । दिल्ली पुगेर तालिम लिनुभयो। दिल्लीबाट तानसेन फर्कँदा मन भरी आट हिम्मत र तालिममा सहभागीहरूबाट हौसला लिएर फर्किएकी उमासँग तर लगानी गर्ने पैसा थिएन । उद्योग र उद्यमीको सारथि सरकार भनेर नेताले भाषण गरेको सुन्दा उहाँलाई दिक्क लाग्थ्यो । अन्ततः विदेशमा रहेका गोपाल (श्रीमान्) को अङ्कलको छोरा भाइ अमित अर्यालले एक शब्दमा २५ लाख रुपैयाँ सहयोग गरेपछि लगानी सुनिश्चितता भएको उहाँसँग अनुभव रहेको छ । 

२०७५ सालको चैत्र १८ गते घरेलु तथा साना उद्योगको कार्यालयमा उद्योग दर्ता भयो । आवश्यक मेसिन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको खरिद गरियो श्रीमानले पसल बिक्री गरेर उद्योगको व्यवस्थापनमा भरपुर सहयोग गरेको उमाले भन्नुभयो । स्वदेशी उत्पादन भनेर बजारमा जाँदा सुरु सुरुमा विश्वास दिलाउन निकै कठिन भयो । 

बहुराष्ट्रिय उद्योगद्वारा उत्पादित बस्तुसँग प्रतिस्पर्धा गर्न कम चुनौती थिएन । बजारमा जाँदा  पसलहरूले दुई तीन वटा मात्र राख्ने गर्दथे । बजारीकरणको सवालमा निकै दु.ख कष्ट झेल्नु पर्‍यो । अहिले पहिले जस्तो समस्या परेको छैन । हाम्रो उत्पादित बस्तुले आफ्नै पहिचान बनाई सकेको । त्यससँग सँगै आफु जस्ता १० जना महिलाहरूले प्रत्यक्ष रुपमा राम्रो रोजगारीको अवसर प्राप्त गरेको उमाले बताउनुभयो ।  

उद्योगमा झण्डै आधा करोड लगानी पुगेको छ । श्रीमान् गोपालले बजार व्यवस्थापनको जिम्मेवारी पुरा गरेका छन् । श्रीमतीले सञ्चालन गरेको उद्योगको व्यवस्थापक भएका अर्याल भन्दछन् । महिलालाई पनि अवसर र सम्मान दिने हो भने सफल हुदारहेछन भन्ने आफ्नै परिवारमा गतिलो उदाहरण भएको उनको बुझाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button