तनहुँमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने

तनहुँ । तनहुँमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलवार एक सूचना प्रकाशन गरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्लावासीलाई अनुरोध गरेको छ ।
जिल्लामा हालसम्म पनि कोभिड सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा नजिकिँदै गरेको तिहार र छठ मनाउने सन्दर्भमा जोखिमबाट बच्दै चाडपर्व मनाउन र आफ्ना दैनिक क्रियाकलाप सुचारु गर्न प्रशासनले अनुरोध गरेको हो ।
चाडपर्व मनाउँदा अनावश्यक यात्रा नगरी आफ्ना परिवारका सदस्यहरु बिच मात्र घरै मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सूचनामा जिल्ला भित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा अन्य अनावश्यक भिडभाड हुने कार्यक्रम नगर्न, जुवा तास लगायत कानुनले निषेध गरेका कार्यहरू नगर्न पनि अनुरोध गरिएको छ ।
साथै सार्वजनिक सवारी, उद्योग व्यवसाय तथा मठ मन्दिरहरूमा स्वास्थ्य सुरक्षाको कडाइका साथ पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्