पोखराको २५ ठाउँमा ट्राफिक लाइट विस्तार हुँदै
कास्की।पोखराका २५ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको छ । लामो समयदेखि पोखराका सडकहरूमा ट्राफिक लाइट नहुँदा सवारी जाम देखि सडक दुर्घटना हुने गरेको थियो । पोखरा महानगरपालिकाले यस अघि पोखराको महेन्द्र पुल , जिरो किलो मिटर र शान्तिनगर चोकमा ट्राफिक लाइट राखेको थियो । तर पनि कार्यान्वयनमा नआउँदा सडकमा दुर्घटना हुने गरेको थियो । सङ्घीय ट्राफिक प्रहरीको सहयोगमा पोखरामा ट्राफिक लाइट विस्तार गर्न लागिएको ट्राफिक प्रहरी सही शिव प्रसाद पाठकले जानकारी दिनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले लाइट विस्तारको समय सडक लेन र मादप पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूको लागी कक्षा सञ्चालनको तयारी समेत गरेको छ । पाठकले भन्नु भयो “ पोखरामा लामो समय सम्म ट्राफिक लाइटको प्रयोग नहुँदा चालकहरूलाई पहिलो चरणमा आवश्यक कक्षा दिनु पर्ने छ । पहिला राखिएका ट्राफिक लाइट प्रयोगमा नआउँदा चालकहरूलाई निकै समस्या परेको थियो हामी ट्राफिक प्रहरीलाई पनि सकस नै थियो सानो सङ्ख्यामा रहेका ट्राफिक प्रहरीबाट सेवा प्रवाह गर्नु परेको थियो अव पोखरामा मुख्य २५ ठाउँहरूमा ट्राफिक लाइट विस्तारले सडक दुर्घटना कम गर्ने छ । ” सडक विभागले पोखराका विभिन्न २५ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान चोकमा र दोस्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो ।
यही वर्ष पृथ्वी चोक, सभागृह चोक, बिपी चोक, बिरौटा चोक, अमरसिंह चोक, जिरो किलोमिटर, हल्लन चोक, सिर्जना चोक र राष्ट्र बैङ्क चोकमा बत्ती राखिने महानगरपालिकाले जनाएको छ । प्रत्येक चोकमा बत्ती राख्न २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणमा तीन करोड लागत अनुमान गरिएको छ । ‘पहिलेको अध्ययनमा २२ लाख लाग्ने अनुमान थियो । अहिले लेटेस्ट भर्सनको बत्ती राख्ने योजना छ । त्यसैले लागत बढेको हो,’ पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भन्नुभयो, ‘यहीँ वर्ष टेण्डर निकालेर काम सक्ने महानगरको योजना रहेको छ ।’
उहाँका अनुसार थप १५ वटा चोकमा पनि अध्ययन सुरु भएको छ । सडक बत्ती राख्न महानगर र सडक विभागबिच छलफल भएको छ ।
दैनिक ट्राफिक चाप बढ्दै गएको छ ।
दुई वर्षअघि यहाँका चोकहरूको आइल््याण्ड घटाइएको थियो । चोकमा भएका शालिकलाई विभूति पार्क बनाएर सारिएको छ । ट्राफिक लाइटसँगै विद्युत् प्राधिकरणले पोखरामा स्मार्ट बत्ती राख्ने टेण्डर निकालेको छ । ८० किलोमिटर सडकमा स्मार्ट बत्ती राख्ने तयारी गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्