तपाईँ सुन्दै हुनुहुन्छः

घुम्न जाने होइन त नाम्जे गाउँ ?

नाम्जे (धनकुटा)। विश्वका १२ उत्कृष्ट गन्तव्य सूचीमा अमेरिकाको समाचार संस्था सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । साँघुरीगढी गाउँपालिकाको वडा नं ६ नाम्जे गाउँमा बसोबास गर्दै आएका मगर समुदायको २२ घरमा पर्यटकका लागि घरबास (होमस्टे) सञ्चालन गरिएको छ ।

कोरोना कहरबाट लामो अवधिसम्म घरभित्रै बस्नुपर्दा दिक्क भएका हजारौँ पर्यटक नाम्जेका घरबासमा ओइरिन थालेका छन् । यसलाई धान्न स्थानीय घरबास सञ्चालकहरुलाई हम्मे हम्मे परेको छ । धरानबाट २० किलोमिटर र भेडेटारबाट चार किमी नजिक रहेको ‘नाम्जे गाउँ’ पुग्न मोटर र पैदल मार्गको सहज र सुविधाजनक पहुँच छ । घरबास, मगर संस्कृति र मनमोहक प्राकृतिक वातावरणका लागि प्रसिद्ध ‘नाम्जे गाउँ’ वरपर नेपालकै सुप्रसिद्ध अरू पर्यटकीय गन्तव्य भएको हुँदा यो स्थान पर्यटकको रोजाइ बन्ने गरेको हो ।

महामारीमा सुनसान बनेको ‘नाम्जे गाउँ’ अहिले आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुन थालेको नाम्जे सामुदायिक होमस्टे समितिका अध्यक्ष अनिल रानाले जानकारी दिनुभयोे । यहाँ हरेक रात १५० पर्यटकलाई आवासको व्यवस्था छ । सयौँको सङ्ख्यामा आउने पर्यटक बस्ने ठाउँ नपुगेर होटेलतिर जान बाध्य छन् । गाउँका २२ घरबास हरेक दिन पाहुनाले भरिने गरेको र नअट्ने भएपछि थुप्रै पर्यटकलाई होटेलतिर पठाउनु परेको उहाँको भनाइ छ । “हामी होमस्टेमै बस्छौँ भनेर धेरै पाहुना आउनुहुन्छ, सीमित कोठाहरू भएकाले यहाँ नअटाउनेहरूलाई होटेलतिर पठाउने गरेका छौँ,” अग्रिम बुकिङ गरेर पाहुनाहरू गाडी लिएरै आउने गरेको जनाउँदै उहाँले भन्नुभयो–“अगाडि नै बुकिङ नगरी आउनुहुने पाहुनालाई राख्न हामीसँग ठाउँ नै हुँदैन ।”

महामारीले विश्वभरि पर्यटन व्यवसाय धराशायी बनिरहेको बेला ‘नाम्जे गाउँ’मा पर्यटकको ओइरोले नेपाली पर्यटन सजिलै व्यँुतिन सक्दो रहेछ भनेर उदाहरण प्रस्तुत गरेको नेपाल पत्रकार महासङ्घ प्रदेश नं. १ क उपाध्यक्ष हिमा चेम्जोङ बताउनुहुन्छ ।उहाँले सीएनएन जस्तो प्रसिद्ध सञ्चार संस्थाले विश्व गन्तव्य सूचीमा राखेको ‘नाम्जे गाउँ’का बासिन्दाको जीवनस्तर घरबास पर्यटनले नै उकासिएको बताउनुभयो । धरान, भेडेटार जस्ता पर्यटकीय सहर नजिकै भएको हुँदा नाम्जे क्षेत्रमा पर्यटकको घुइँचो बढेको उहाँको भनाइ छ ।

साँघुरीगढी गाउँपालिकाभित्र नाम्जे घरबासका लागि प्रसिद्ध भए जस्तै वरपर रहेको भेडेटारको चाल्र्स भ्यूटावर, नमस्ते झरना, राजारानी ताल, विश्रान्ति मन्दिर, साँघुरी गढी, ध्वँजे डाँडा, आत्मा सम्झिने स्थान, नयाँ पाथीभरा मन्दिर, ओख्रे भ्यूटावर र डाँडा बजारको बरको रुख पर्यटकका लागि उत्तिकै आकर्षण बन्ने गरेको साँघुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ जानकारी दिनुभयो । “साँघुरी गढीको एकीकृत पर्यटकीय विकासका लागि हामी योजनाबद्ध रुपमा काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो“यात्री बढाउने होइन, पर्यटक बढाउने र उनीहरूको बसाई लम्ब्याउनेतर्फ हाम्रा गतिविधि केन्द्रित छन् । स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेको छ ।”

पर्यटकलाई रमणीय स्थानका विषयमा जानकारी दिन सूचना केन्द्र स्थापना गर्ने, पार्किङ स्थल निर्माण गर्ने, स्थानीय कृषि उत्पादनलाई बढाउने, पर्यटक सत्कारका लागि स्थानीय बासीलाई प्रशिक्षण दिने, जनजाति पार्क बनाउने, मगर संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्‍याउने लगायतका थुप्रै योजना पालिकासँग रहेको प्रकाशकीय श्रेष्ठले जानकारी दिनुभयो ।

‘नाम्जे गाउँ’मा बसोबास गर्नेहरू ९५ प्रतिशत मगर समुदायका छन् । उनीहरूको हुर्रा नाच पर्यटकका लागि विशेष आकर्षण हुने गरेको छ । यहाँको तोङ्बा, स्थानीय जातको कुखुरा र बारीमा फल्ने अर्ग्यानिक सागसब्जी पर्यटकको रोजाई हुने गरेको छ । यहाँका हरेक घरमा पर्यटक स्तरको घरबासको व्यवस्था गरिएको छ । घरबास शुल्क र यहाँको खानपान धेरै सस्तो छ ।

२०३८ सालमा बेलायतका युवराज चाल्र्सले नेपाल भ्रमण गर्दा साँघुरी गढीको भेडेटारमा प्याराफिट निर्माण गरेर हिमाली दृश्यावलोकन गर्नुभएको थियो । थुम्कीमा बनेको त्यही प्याराफिटबाट प्रेरित भएर यहाँ भ्यूटावर निर्माण गरियो । जहाँबाट सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, कोशी ब्यारेज, विराटनगर, धरान र इटहरीको दृश्यावलोकन गर्न सकिन्छ । शैलुङ डाँडा भनेर चिनिएको यस स्थानलाई पछि ‘चाल्र्स भ्यूटावर’ नामकरण गरिएको हो ।

सिङ्सवा खोलाको शीरबाट ५० मिटर खस्ने छाङो यहाँको नमस्ते झरनाको रुपमा प्रसिद्ध छ । कोशी राजमार्ग नजिक भएको हुँदा यात्रुहरू समेत गाडी रोकेर झरना हेर्न र नुहाउन जाने गर्छन् । भेडेटारबाट पैदल पाँच घण्टामा पुगिने राजारानी ताल समुन्द्र सतहबाट १५०० मिटरको उचाइमा रहेको रमणीय क्षेत्र हो । लिम्बु भाषामा ‘मानावरक’ र ‘पावावरक’ भनिने यो तालमा नौकाविहार र फिसिङको सुविधा समेत छ । बाह्रै महिना चिसो मौसम भए तापनि हिउँदमा यहाँ आकाश उघ्रिएर पारिलो घाम लाग्ने गर्दछ । घुम्न, बस्न र सेमिनार गर्नका लागि यहाँ घरबास बाहेक सुविधा सम्पन्न होटलहरु बढिरहेका छन् । ‘नाम्जे गाउँ’को घरबासमा प्रति व्यक्ति रु. दुई सयमा बस्ने व्यवस्था गरिएको छ ।

सुर्खेतबाट सपरिवार घुम्न आउनु भएकी लक्ष्मी जोशीले दुई रात ‘नाम्जे गाउँ’मा बिताउने सोच राखेको बताउनुभयो । पहिलो रात घरबासमा बस्दा यहाँको आतिथ्य साह्रै राम्रो लागेको बताउँदै उहाँले राजारानी ताल र विश्रान्ति मन्दिर घुमेर अरू एक रात नाम्जेको घरबासमै बस्ने छोराछोरीहरूले इच्छा गरेको सुनाउनुभयो । “नानीबाबुहरु होस्टलमा बसेर पढ्दै आएका थिए, बन्दाबन्दीपछि दिनभरि अनलाइनमा पढ्थे,” नाम्जे गाउँको हरियाली वातावरण, ग्रामीण जनजीवन र घुम्न लायक ठाउँका कारण बसाइ आनन्ददायक भएको जनाउँदै उहाँले भन्नुभयो–“यहाँ नानीबाबुहरु साह्रै रमाए । सस्तो, सुन्दर र आकर्षक यस्तो पर्यटकीय स्थल नेपालमा अरूतिर पाइँदैन ।”

पर्यटकको घुइँचो बढ्दै गएपछि यहाँ होटेल व्यवसाय पनि बढेको छ । स्थानीयको घरबासमा पार्किङ सुविधा नभएपछि पाहुनाहरू होटेलमा प्रति रात रु ४०० तिरेर आफ्ना गाडी पार्किङ गराउन बाध्य छन् । घर बासकै कारण प्रसिद्ध ‘नाम्जे गाउँ’मा होटेलको वृद्धि भएपछि पर्यटक तानातान बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button