पूर्व मन्त्रीहरूसँग खेलकुद मन्त्रीको छलफल

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पूर्व मन्त्रीहरूसँग राय परामर्श लिनुभएको छ । विभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पूर्व मन्त्री तथा राज्यमन्त्रीहरूसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी पूर्व मन्त्रीहरूले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राख्नुभयो । युवा तथा खेलकुद पूर्व सह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरूमा विशेष जोड दिनुपर्ने बताउनुभयो । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भए पनि ती सबै कार्यक्रमहरूलाई मन्त्रालयकै मातहतमा ल्याउन उहाँले सुझाव दिनुभयो । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासकालागि मन्त्रालयले अत्यधिक मात्रामा बजेटको व्यवस्थापन गर्नुपर्ने र खेलाडीहरूको जीवनस्तर उकास्ने खालका गतिविधिहरूमा जोड दिनुपर्ने चौधरीको भनाई थियो ।
पूर्व राज्यमन्त्री गोपी अछामीले पहिलो पटक पूर्व मन्त्रीहरूसँग सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो अभ्यासको सुरुवात गरेको बताउनुभयो । जनशक्ति, पूर्वाधार र बजेटको स्थिति हेर्दा खेलकुद मन्त्रालय सधैँ उत्पीडनमा परेको आभास हुने बताउँदै अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो । साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलियाहरूलाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरूलाई व्यापकता दिनुपर्ने बताउँदै अछामीले खेलाडीहरूलाई नियमित रुपमा अभ्यास तथा तालिमको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
उहाँले केन्द्र, प्रदेश र स्थानीय स्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरू खेल संरचना निर्माणमा सहयोग पुग्ने भएकाले त्यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा बोल्दै पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकुद विकास ऐन” कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गर्नुभयो । बाहिरी रुपमा ऐन प्रति विभिन्न खालका टीकाटिप्पणी हुने गरेको भए पनि वर्तमान खेलकुद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामर्थ्य खेल विकास ऐनले राख्ने कुरामा आफु ढुक्क रहेको विश्वकर्माले बताउनुभयो ।
अघिल्लो सरकारले राम्रा खालका योजनाहरू अगाडि बढाएको जिकिर गर्दै विश्वकर्माले विगतमा सुरु भएका खेल पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको बताउनुभयो । उहाँले ७ वटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रङ्गशाला निर्माण कार्यलाई पूर्णता दिनसके स्थानीय स्तरबाट ठुलो मात्रामा खेलाडीहरू उत्पादन हुनुका साथै खेल पर्यटनमा समेत यसले टेवा पुर्याउने धारणा राख्नुभयो ।
खेल पर्यटनका हिसाबले नेपाल संसारकै उत्कृष्ट देश भएको उल्लेख गर्दै विश्वकर्माले भन्नुभयो “नेपाल मात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलिने सबै प्रकारका खेलहरू खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।”
खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा स्वरोजगार कोष बिचौलियाहरूको कमाई खाने भाँडो बनेको प्रति दुख व्यक्त गर्दै पूर्व मन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पुर्याउन नयाँ खालको नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफल कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरू तर्जुमा गरिने बताउनुभयो । विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनीका लागि आफु निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाउने कार्यमा आफु दिनरात लागिपरेको बताउनुभयो । छलफलबाट महत्त्वपूर्ण सुझाव सङ्कलन भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईँहरूबाट प्राप्त महत्त्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्ग निर्देशका रुपमा ग्रहण गर्नेछु ।”
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमल प्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भए गरेका गतिविधिहरूका बारेमा जानकारी दिनुभएको थियो । त्यस क्रममा मन्त्री अथकले पूर्व मन्त्रीहरूलाई खादा ओढाएर सम्मान समेत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्