सिलाइ कटाई पेसाले रोकियो कालापहाडको यात्रा

जुम्ला । ५/६ वर्ष पहिले तातोपानी २ का लोकबहादुर दमाईको घर खर्च कालापहाडको कमाई कै भरमा चल्थ्यो ।
घरको उत्पादनले वर्षभरि नपुग्ने, कमाउने स्रोत केही नहुँदा हरेक वर्ष कालापहाड जान लोकबहादुर बाध्य हुनुन्थ्यो ।
उहाँको आधा बाल्यावस्था कालापहाड जाँदै बित्यो । कति दसैँ तिहार परिवारसँग मनाउन पाउनुभएन ।
प्रायः मङ्सिरमा कालापहाड जाने उहाँ १/२ वर्ष कमाएर फर्किने गर्नुहुन्थ्यो । भारतबाट कमाएर नपठाएसम्म घरमा दसैँ तिहार मनाउन मात्रै हैन अघि पछिको घर व्यवहार चलाउन पनि मुस्किल हुने गर्दथ्यो उहाँलाई ।
तर लोकबहादुर दमाईले केही वर्षयता घरमै सिलाई कटाइ व्यवसाय गर्न थालेपछि कालापहाडको यात्रा रोकिएको छ ।
सीप सिकेर घरमै टेलरिङ सञ्चालन गरेपछि उहाँको कालापहाड जाने दुख हटेको छ ।
उहाँले अहिले घरमै बसेर मासिक २० देखि २५ हजार कमाउन थाल्नुभएको छ ।
“कुनै समय थियो घरको नुन तेल, लुगाफाटो गर्न पनि कालापहाडकै मुख ताक्नुपर्थ्यो”, उहाँले भन्नुभयो, “५/६ वर्ष भयो, घरमै आफ्नै कमाइले सुखसँग बसेको छु । सिलाई कटाइको कमाइले परिवार चलेको छ । कालापहाड जानुपर्ने बाध्यताबाट मुक्त भएको छु ।”
त्यस्तै, तातोपानी २ कै लालबहादुर दमाईको कमाउने माध्यम कालापहाड थियो ।
कमाउने कुनै माध्यम नभएपछि लालबहादुर कालापहाड जाने गर्नुहुन्थ्यो । भारतमा काम गरेर परिवार पाल्नुपर्ने उहाँको बाध्यता थियो ।
कालापहाडको कमाइले घर खर्च चलाउन र साहुको ऋण तिर्दै ठिक्क हुने, परिवार पाल्न पनि गाह्रो हुँदै गएपछि उहाँले पनि घरमै सिलाई कटाइको काम सुरु गर्नुभयो ।
तालिम लिएरै सिलाई कटाइ सुरु गरेपछि उहाँको कमाई राम्रै हुँदै गयो । बिस्तारै उहाँको पनि कालापहाडको यात्रामा पूर्णविराम लाग्यो ।
“यसरी चाडै कालापहाड जानुपर्ने बाध्यता हट्ला जस्तो लागेको थिएन तर सङ्घर्ष गरेपछि सम्भव हुने रहेछ” उहाँले भन्नुभयो, “कालापहाडको कमाइले परिवार पाल्न धौधौ हुन्थ्यो । अहिले सिलाई कटाइबाट घर खर्च, छोराछोरीको पढाइ खर्च गरेर पनि थोरै बच्छ । यसैमा खुसी छु ।”
लोक बहादुर र लाल बहादुर एक उदाहरण भए पनि जुम्लाका धेरै विपन्न नागरिकलाई सिलाई कटाइ व्यवसायले कालापहाड छुटाएको छ ।

कालापहाडमा आधा जीवन बिताएर पनि हाल घरमै सिलाई कटाई पेसा गरेर मनग्य आम्दानी गर्ने उहाँहरू एक उदाहरण हुनुहुन्छ ।
स्थानीय सरकार सिलाई कटाई, खुद्रा होटेल व्यवसाय, तरकारी खेती गर्नेलाई दुई वर्ष पहिले निर्ब्याजी ऋण दिएको समेत तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
व्यवसाय प्रवर्द्धनका लागि आगामी दिन स्थानीय थप व्यावसायिक योजना तथा कार्यक्रम ल्याउने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्