कांग्रेस नेत्री कोइरालाद्वारा सभापतिमा उम्मेदवारी घोषणा

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा घोषणा गर्नुभएको कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिनुभयो ।
नेतृ कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको बताउनुभयो ।
“लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको अदालत सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले मुलुकका सबै संवैधानिक अङ्गले निष्पक्ष ढङ्गले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य कोइरालाले सत्तासीन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि काँग्रेसले आगामी निर्वाचनमा तालमेल गर्नुहुँदैन भन्नुभयो ।
उहाँले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्