तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीप्रति जनताको विश्वास बढिरहेको छ : अध्यक्ष दाहाल

File Photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताउनुभएको छ । 

पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।” 

उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यस कारण सपना देख्नु जायज हो ।” अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै सपना देख्यौँ । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।” आफूहरूले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।” 

उहाँले यस्तो सपना देख्नु नराम्रो नभएको बताउनुभयो । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको ऊर्जाले प्रमाणित गरेको अध्यक्ष दाहालको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “अहिले माओवादीमा प्रवेश गर्नेको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी छ, त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्छ ।” 

अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उहाँको भनाइ थियो । भूमिहीनलाई लालपुर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button