तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीशहरुले सोमवार प्रधानन्यायाधीश जबरासँग छलफल गर्ने

काठमाडौँ । न्यायाधीशहरूको आजको बैठकले प्रधानन्यायाधीश जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने पुरानो अडान कायमै राखेका सर्वोच्चका न्यायाधीशहरू उहाँको धारणा बुझेपछि सोमबार थप रणनीति बनाउने पक्षमा देखिएका छन् ।  

प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै अघोषित रुपमा इजलास बहिस्कार गर्दै आउनु भएका सर्वोच्चका अरू न्यायाधीशहरू आज पनि इजलास छाडेर आन्तरिक छलफलमा बस्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबसेपनि प्रधानन्यायाधीश जबराले भने आज आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गर्नुभएको छ । 

प्रधानन्यायाधीश जबराले गठन गर्नुभएको १२ इजलासमध्ये आफ्नो एकल इजलासमा आज दुई वटा मुद्दाको सुनुवाइ गर्नुभएको हो । 

न्यायाधीशहरूको अघोषित इजलास बहिस्कारका कारण प्रधानन्यायाधीश जबराको एकल इजलासबाहेक उहाँसहितको एउटा संयुक्तसहित ११ वटा इजलासमा भने मुद्दाको सुनुवाइ भएन । 

सर्वोच्चमा आजका लागि गठन गरिएको १२ इजलासमा २ सय ४८ मुद्दाको पेशी तोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button