तपाईँ सुन्दै हुनुहुन्छः

४८ वर्षदेखि खानेपानीको समस्या भोग्दै डकलेबासी

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका –८ डकलेका स्थानीय वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । 

करिब ४८ वर्षदेखि नै आफूहरूले खानेपानीको समस्या भोग्दै आएको गुनासो स्थानीयको छ । 

धारामा ३ महिनापछि बल्ल आज शनिवार पानी आउँदा समुदायका नागरिकहरू पानी भर्नमै व्यस्त थिए । तर एक छिनका लागि मात्र आउने पानी आफूहरूको लागि पर्याप्त नभएको स्थानीय शेरबहादुर सार्कीले बताउनुभयो । 

पानी भर्नकै लागि २/३ घण्टाको पैदल दुरीमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

करिब ६८ घरपरिवार रहेको सो समुदायका नागरिकहरू पानी भर्नकै लागि घरको एक जना सदस्यलाई छुट्टाएर राख्नुपर्ने अवस्था आएको त्यहाँका स्थानीय बताउँछन् । 
पानी नहुँदा समुदायमा रहेका बालबालिका, गर्भवती महिला तथा बृद्धबृद्धाहरुले निकै सास्ती भोग्नुपरेको अर्का स्थानीय महिला धना कुमारी सार्कीले बताउनुभयो । 

“पानी बोक्दा बोक्दै कपालमा रौँ समेत झर्ने अवस्थामा अझै पनि पानीकै लागि रातदिन नभनी जोहो गर्नुपर्ने बाध्यता कहिले आउँला ।” उहाँले भन्नुभयो, “अब जसले पानी ल्याउँछ उसलाई मात्र भोट दिन्छौ । नत्र भने भोट समेत हाल्दैनौ ।”

चुनावका बेला मात्र सो धारामा आउने पानी अन्य समयमा भने कता जान्छ आफूहरूलाई केही पत्तो नहुने उहाँहरूको भनाई छ ।  
धारामा पानी नहुँदा स्थानीयले दैनिक सरसफाइ, शौचालयको लागि निकै समस्या भोग्नुपरेको उहाँहरूले गुनासो गर्नुभएको छ । जिल्ला सदरमुकाममा खलङ्गा खानेपानी उपभोक्ताको टंयाङकीबाट ओभरफुल भएर मात्र आएको पानी सो समुदायमा कहिलेकाहीँ आउने गरेको उहाँहरू बताउँछन् ।  

निर्वाचनका बेला स्थानीय सरकारले घर नजिकै खानेपानी पुर्याउछौँ भने पनि अहिलेसम्म सो समुदाय पानीकै लागि तड्पिरहेको छ । 

समुदायमा रहेको यो खानेपानीको समस्या भने तत्कालै हट्न नसक्ने अमरगढीका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । 

उहाँले यसको समाधान खलङ्गा खानेपानी मात्र भएकाले सो खाने पानीसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button