तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणनाका लागि तनहुँमा गणकलाई तालिम सुरु

तनहुँ । राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँ जिल्लाका गणकहरूका लागि ४ दिने तालिम शनिवारदेखि सुरु भएको छ ।  

गणना गर्दा अपनाउनुपर्ने रणनीतिका बारेका जानकारी दिने उद्देश्यले सो तालिमको आयोजना गरिएको जिल्ला जनगणना कार्यालय तनहुँले जनाएको छ । 

जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा सञ्चालित तालिममा ४ सय ९० जना गणक र नयाँ ३२ जना सुपरिवेक्षकको सहभागिता रहेको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।

सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरणसहित गणकहरू मूल गणना कात्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्मका लागि घरदैलोमा खटाइने जनगणना अधिकारी सापकोटाले बताउनुभयो ।

’मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ राष्ट्रिय जनगणना सञ्चालन हुन लागेको हो । गणना क्षेत्र तोकेर गणकलाई खटाइने उहाँले जानकारी दिनुभयो ।

अब हुने गणना दोस्रो चरणको जनगणना हो । जसमा गणकहरूमार्फत प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरणहरू सङ्कलन गरिनेछ ।

दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ ।

सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ । 

जनगणनाबाट वडा स्तर सम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रमहरू तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रमहरू सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकहरूको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्त्व रहेको छ ।

अघिल्लो जनगणनामा भन्दा यस पटक ८ वटाभन्दा बढी आधारभूत प्रश्नहरू राखिएको उहाँको भनाई छ । 

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button