सामाजिक सञ्जालको बढ्दो प्रयोगले सार्वजनिक पुस्तकालय मारमा

कास्की । कुनै बेला पोखराको महेन्द्र पुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालयमा बस्ने ठाउँ हुँदैन थियो ।
करिब १२ हजार पुस्तक सङ्ग्रह गरिएको यो पुस्तकालय पठन पारखीहरूका लागि ज्ञान आर्जन गर्ने र समय बिताउने माध्यम बन्ने गरेको थियो ।
पोखरामा सार्वजनिक क्षेत्रमा देखिने मानिसहरूको जमघटको थलोको रुपमा रहेको थियो उक्त पुस्तकालय । तर, कोरोनाका कारण विगत दुई वर्षदेखि यो पुस्तकालय सुनसान बनेको छ । यहाँ अध्ययनको लागि पुस्तक मात्रै नभई अमेरिकन सेन्टर पनि छ, जहाँबाट अनलाइनमार्फत अध्ययन गर्न सकिन्छ । आज भोलि पुस्तकालयमा पत्रिका पढ्ने र पुस्तक पढ्नेहरू आउनै छोडेका छन् । हाल पुस्तकालयमा दुई जना कर्मचारी रहेका छन् ।
महेन्द्र पुलका पुस्तक प्रेमीहरूको एक समूह र तत्कालीन पोखरा नगरपालिकाको पहलमा यो पुस्तकालय वि.स.२०४९ सालमा स्थापना भएको थियो ।
पोखरेलीलाई अध्ययन तथा समसामयिक राजनीतिको घटनाक्रम बुझ्न र पठन संकृतिको विकास गर्ने उद्देश्यले स्थापना भएको यो पुस्तकालय स्थापनाकालमा नै सानो स्थानबाट सुरु गरिएको थियो ।
स्थापनाको साढे दुई दशक पुग्दा यो पुस्तकालय अध्ययन सामाग्रीका हिसाबले सुविधा सम्पन्न भए पनि, भौतिक संरचना भने कमजोर हुँदै गएको छ ।
पछिल्लो समय पुस्तकालयमा मानिसहरूको भिडभाड नदेखिनुको कारणबारे पोखरा ¥याण्ड रिर्डस सोसाइटीका अध्यक्ष केशव शरण लामिछाने भन्नुहुन्छ “पोखराको पुरानो सार्वजनिक पुस्तकालय प्रविधिको मारमा पर्यो । लामो समय पहिला पुस्तक किन्ने थोरै मानिस थिए आज भोलि धेरै मानिसले किताब किनेर पढ्ने ल्याकत राख्दछन् ।” उहाँले भन्नुभयो, “मानिस कम हुनुमा केही दशक अगाडीसम्म यो पुस्तकालयमा राजनीति, साहित्य र पत्रकारिता गर्ने व्यक्तिहरू पढ्न आउने गरेका थिए तर आज भोलि त्यस्तो पठन संस्कृति विकास गर्ने खालका कार्यक्रम हुनै छाडेकाले यो समस्या आएका हो ।”
पुस्तकालयमा अध्ययनको लागि नियमित अखबारहरू उपलब्ध छन् नै, साहित्यका विभिन्न विधामा आधारित रहेर लेखिएका पुस्तकहरू समेत पढ्न पाइने उक्त पुस्तकालयमा आज भोलि मानिसको भिड देख्न मुस्किल हुने गरेको पुस्तकालयका सूचना अधिकारी अमर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार एकै समयमा धेरै मानिसहरू बसेर पढ्न सक्ने क्षमता भए पनि अहिले भने पुस्तकालयमा मानिसहरू आउन छोडेका छन् ।
पुस्तकालयमा एकै पटक ५० देखि ६० जनाले पढ्न मिल्ने भए पनि हाल दैनिक १५/२० जनाको हाराहारीमा पुस्तकालयमा आउने गरेका छन् ।
कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण अनलाइन माध्यमबाट पनि पुस्तकालय सञ्चालन भएको छ । तर अनलाइन अध्ययनमा पाठकहरूको रुचि नदेखिएको पुस्तकालय सञ्चालक समितिले जनाएको छ ।
पुस्तकालयमा अध्ययन गर्न मानिसहरू आउन छोडेपछि पुस्तकालय प्रशासनले निश्चित अवधि तोकेर पुस्तक वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
मानिसहरूको भिड कम हुन थालेसँगै पुस्तकालयलाई आर्थिक अभाव हुन थालेको छ । नगरपालिकाबाट नियमित अनुदान पाउने गरेको पुस्तकालयले विगत ४ वर्षदेखि त्यो सहयोग पनि पाउन सकिरहेको छैन ।
पुस्तकालय प्रशासनले सुविधा सम्पन्न भवनको आवश्यकता औँल्याएको छ । वर्षौँ पुरानो जीर्ण भवनबाट सञ्चालन गर्दा पनि पुस्तकालयतर्फ मानिसहरूको ध्यान नगएको निष्कर्ष प्रशासनको छ ।
यसका लागि पुस्तकालयले गण्डकी प्रदेश सरकारसँग अनुदान माग गरेको छ । तर सरकारले अनुदान दिने नदिने केही टुङ्गो लागेको छैन ।
पोखराको पठन संस्कृतिको इतिहास बोकेको यो पुस्तकालय जीर्ण हुनुमा कोभिड महामारी जति दोषी छ, उत्तिकै दोषी यससँग सम्बन्धित सरकोकारवालाहरुको पनि रहेको छ ।
यो इतिहासलाई बचाउन पोखराका सरोकारवालाहरूले बेलैमा चासो देखाउनु जरुरी देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्