तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समग्र पक्षलाई जनगणनामा समेट्नु पर्नेमा जोड

काठमाडौँ । वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ । सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका हुन् । 

रोटरी क्लब अफ काठमाडौँ वेस्टले आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैङ्गिक समानता तथा समावेशीकरणविद् सरु जोशीले गैरकानूनी रुपमा विदेश पुगेका नेपालीलाई पनि जनगणनामा छुटाउन नहुने बताउनुभयो । 

मुलुकको पुनः संरचनापछि हुन लागेको जनगणनामा सत्य तथ्यसहितको सूचना उपलब्ध गराउन सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाबीच आपसी समन्वय नभएमा तथ्याङ्क हराउन सक्ने बताउँदै अधिकारकर्मी जोशीले गैरसरकारी सङ्घ–संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

समाजवादी प्रेस सङ्गठनका संयोजक शम्भु श्रेष्ठले गणनामा मुलुकमा भएका सबै पक्षको सही सूचना प्राप्त हुनसकेमा त्यसका आधारमा राष्ट्र निर्माणमा नीति नियम तर्जुमा गर्न सहयोग पुग्नेमा जोड दिनुभयो । रोजगारीका सिलसिलामा भारतमा गएका नेपालीको सही तथ्याङ्क प्राप्त हुन नसकेकाले त्यसलाई कसरी गणनामा समावेश गर्ने, आत्महत्या गर्ने समूह र दुर्घटनामा परेकाको तथ्याङ्क पनि गणनामा छुटाउन नहुने सुझाव सहभागीले दिएका थिए । 

नेपाली पोलिसी इन्ष्टिच्यूटको बोर्ड सदस्यसमेत रहनुभएकी अधिकारकर्मी जोशीले यस किसिमको सचेतना कार्यक्रमअन्तर्गत विभिन्न २० स्थानमा प्रस्तुति गर्नुभएको छ । उक्त इन्ष्टिच्यूटले सरकारी प्रतिनिधि, केन्द्रीय तथ्याङ्क विभागसहित सरोकारवाला पक्षसँग आजै छलफल गर्ने कार्यक्रम छ । जन्म दर्ता, मातृ मृत्युदरलगायत विषय यस पटक गणनामा संलग्न गराउन लागिएको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button