राष्ट्रपतिद्वारा बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट लुम्बिनी आइपुग्नुभएका राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले लुम्बिनीमा बनेको बज्रयान विहारको उद्घाटन र पूजा गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरुयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अववधेश त्रिपाठी, सदस्यसचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

त्यस लगत्तै राष्ट्रपतिले लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गर्नुभएको सदस्यसचिव शाक्यले बताउनुभयो ।

उहाँले नेपाल मण्डल स्वागत द्वारको निरीक्षण गर्नुका साथै शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म पैदल यात्रा गर्नुभएको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिनुभएको सदस्य सचिव शाक्यले बताउनुभयो ।

राष्ट्रपतिको स्वागतका लागि शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री अजय क्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरि प्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा हुनुहुन्छ ।










प्रतिक्रिया राख्नुहोस्