तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवासँग नेपाल–ब्रिटेन सोसाइटीका प्रतिनिधिको भेटवार्ता

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–ब्रिटेन सोसाइटीका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । 

यहाँ स्थित नेपाली राजदूतावासमा आज बिहान भएको भेटमा उहाँहरूले सोसाइटीले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्न भूमिका खेलिरहेको र थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको चर्चा गर्नुभएको थियो ।

सोसाइटीका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ पुस्ताका बेलायतीलाई पनि नेपालको भ्रमण गराउन र नेपालप्रति सद्भावना अझ बढाउनका लागि केही नयाँ कार्य सुरु गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

विभिन्न स्वयंसेवी संस्था र व्यक्तिहरू र गैरसरकारी संस्थामार्फत पनि नेपाल भरी नै सोसाइटीले काम गरिहरेको र थप प्रभावकारी बनाएर नेपाल बेलायत बीचको सम्बन्धलाई प्रभावकारी बनाउन लागिरहने उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सोसाइटीका कामप्रति गहिरो चासो राख्दै नेपालको विकासमा सोसाइटीले स्वयंसेवी संस्थामार्फत पुर्‍याएको योगदानका लागि धन्यवाद दिनुभयो । 

भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँ स्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत हुनुहुन्थ्यो ।

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार राति लण्डन आइपुग्नुभएको हो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहनुहुने कार्य तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button