तपाईँ सुन्दै हुनुहुन्छः

प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन सम्पन्न  भएको छ ।  

‘प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पून: एकीकरण’ भन्ने मूल नाराका साथ हिजोदेखि सुरु भई आज सम्पन्न भएको सम्मेलनले स्वदेश फिर्ती श्रमिकहरूको पुनः एकीकरणका लागि तीनै तहका सरकारहरूले स्पष्ट परिभाषा र अवधारणागत विषयगत नीति र दीर्घकालीन योजना तथा आवश्यक कार्यविधि तत्काल जारी गरी लागू गर्ने लगायतको सुझाव दिएको छ ।

सम्मेलनको समापनमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले उद्यमी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

रोजगारी सिर्जनाका लागि राज्यले गरेको लगानीले उचित प्रतिफल दिन नसकेको स्वीकार गर्नुहुँदै मन्त्री गहतराजले सबै कार्यक्रमलाई एक ठाउँमा ल्याएर उद्यमशीलतामार्फत रोजगारी सिर्जना गरिने बताउनुभयो ।     

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा भएको सम्मेलनमा १६० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button