तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

मकवानपुर । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात् सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पहिलो पटक सत्ता सम्हाल्नुभएका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकास मन्त्रीमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button