तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : सञ्चार मन्त्री साह

जनकपुरधाम । प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश नंं २ मा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले पत्रकारहरूको पेशागत सुरक्षाका लागि तयार रहेको बताउनुभएको छ । 

सञ्चार मन्त्री साहले प्रेस सेन्टर नेपाल धनुषाको तेस्रो जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मी तथा सञ्चार जगतले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो । 

उहाँले पत्रकारिता क्षेत्र जहिले पनि आम जनताको न्याय तथा पीडित समुदायको हित एवं विकृति एवं विसङ्गतिको विरुद्धमा कलम चलाउने भएकाले नै पत्रकारको क्षमताको विकासका लागि क्षमता विकासको कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । 

आन्तरिक मामिला मन्त्री साहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं सुदृढीकरणमा पत्रकारिता जगतले काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले गर्ने कमी कमजोरीको विषयमा पनि खबरदारी गर्नका लागि सुझाव दिनुभयो । 

उहाँले प्रदेशको मिडिया काउन्सिललाई सक्रिय बनाउनका लागि काउन्सिलमा वरिष्ठ पत्रकारहरुको उपस्थिति आवश्यक भएकाले नै पत्रकारिता क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तिलाई ल्याउने पक्षमा रहेको बताउनुभयो ।

अहिले मिडिया काउन्सिलमा भएका व्यक्तिहरू निक्कै जुनियर भएकाले नै स्पष्टीकरण माग गरेको बताउँदै तर उहाँहरू उच्च अदालतबाट पहिला नै स्टेअर्डर ल्याउने काम गरेकोमा सञ्चार मन्त्री साहले आश्चर्य व्यक्त गर्नु भयो ।

उहाँले मिडिया काउन्सिल, सञ्चार प्राधिकरण तथा चलचित्र बोर्डको गरिमा बढाउनका लागि त्यसमा हुने व्यक्तिहरू अनुभवी तथा दक्ष हुनु पर्ने पक्षमा आफू भएको बताउनु भयो । 

प्रेस सेन्टर नेपाल धनुषाका जिल्ला अध्यक्ष शैलेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र धनुषाका सचिव दिवक यादव, सेन्टरका प्रदेश अध्यक्ष किरण कर्ण, केन्द्रीय सदस्य दीपेन्द्र सिंह, नेपाल पत्रकार महासङ्घ धनुषाका जिल्ला अध्यक्ष मनिका झा, वरिष्ठ पत्रकार वि एम खनालले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस काम गर्नु पर्ने सुझाव दिनु भयो । 

कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सम्मानित हुनेहरूमा वरिष्ठ पत्रकार वि एम खनाल, शैलेन्द्र महतो क्रान्ति, किरण कर्ण, दीपेन्द्र सिंह, नेपाल पत्रकार महासङ्घ धनुषाका जिल्ला अध्यक्ष मनिका झा सहितका रहनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button