तपाईँ सुन्दै हुनुहुन्छः

झापाको भद्रपुर नाका २० महिनापछि सहज

भद्रपुर, झापा । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भद्रपुर नाका झण्डै २० महिनापछि सुचारु भएको छ ।

लामो समयदेखि बन्द राखिएको भद्रपुर–गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरे पनि सीमामा तैनाथ भारतीय एसएसबीले ‘माथिको आदेश नआएको’ भन्दै बन्द राखेका थिए । तर, भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले दुवै डोज खोप लगाएका मानिसलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्न अनुमति दिएको छ । 

एसएसबीले सीमा हेल्थ डेस्क राखेर पैदल यात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको नेपाल प्रहरीले जनाएको छ । हाल दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिनुभयो ।

नेपाल सरकारले भद्रपुर नाकामा ३७ करोड लागतमा मेची पुल बनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्न पाएका थिएनन् । अब भने सहज हुने स्थानीय सञ्जीव घोषले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button