घ्याङडाँडाको मुहार फेरिने छ : मन्त्री पौडेल

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ घ्याङडाँडामा निर्माण हुने विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बा निर्माण परियोजनाको शिलान्यास भएको छ ।
हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले हेलिकप्टर चार्टर मार्फत घ्याङडाँडामा पुगेर ताग्लुङ कास्यु टाशी पाल फाउन्डेसनले निर्माण तथा व्यवस्थापन गर्ने विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बाको शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा पुग्नु भएका मन्त्री पौडेललाई स्थानीय विद्यालयका विद्यार्थीहरूले फुलमालाले स्वागत गरेका थिए ।

रोशी गाउँपालिकाले उपलब्ध गराएको करिब १३५ रोपनी जग्गामा सो संरचना बन्ने भएको हो । रोशी गा.पा.को वडा नं. १२ को घ्याङडाँडामा उक्त परियोजना निर्माण ताग्लुङ कास्यु टाशी पाल फाउन्डेसनले निर्माण तथा व्यवस्थापन गर्ने फाउन्डेसनका धर्म गुरु खेन रिन्पोन्छे जे साम्तेन ड्रोडुल दोर्जेले शिलान्यास गर्दै जानकारी दिनुभयो ।
सोही शिलान्यासलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको समस्या समाधान गरेर सरकार अघि बढ्ने बताउनुभयो । उहाँले द्धन्द कालमा घ्याङडाँडा हुँदै गरेको यात्रा र घ्याङडाँडाको पर्यटकीय सम्भावनाको खुलेर तारिफ गर्नु भयो । सँगै विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बा निर्माणमा पर्ने असहज परिस्थितिको आफूले पनि समाधानको बाटो खोजी दिने प्रतिबद्धता फाउन्डेसन र स्थानीय समक्ष व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो ‘देशव्यापी रुपमा देखिएको शैक्षिक क्षेत्रमा भएका समस्या समाधान गरेर सरकार अघि बढ्छ । सरकारले काभ्रे मात्र नभई देश भरका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै लैजाने बताउनु भयो । सामुदायिक विद्यालयहरूमा पठनपाठन हुँदै आएको शिक्षालाई सरकारले गुणस्तरीय शिक्षा बनाउने मन्त्री पौडेलले बताउनु भयो । घ्याङडाँडामा निर्माण हुने संरचनाले यहाँको मुहार फेर्ने विश्वास लिएको समेत उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा ताग्लुङ कास्यु टाशी पाल फाउन्डेसनका अन्य सदस्य, रोशी गा.पा.का प्रमुख प्रशासकीय अधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्व राज्यमन्त्री सूर्य मान दोङ, काभ्रे प्रतिनिधि १ का सांसद गङ्गा बहादुर दोङ, समाजसेवी, स्थानीयवासी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्