तपाईँ सुन्दै हुनुहुन्छः

वागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त

मकवानपुर । वागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत) समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । 

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको कुनै सदस्यलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखसमक्ष नवनियुक्त मुख्यमन्त्री पाण्डेले हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

यसैगरी, नवनियुक्त मुख्यमन्त्री पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button