अध्यक्ष मिश्रको दस्ताबेज पारित
काठमाडौँ । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १ सय २४ सदस्य मध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ भने पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने तथा राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको बताइएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्