तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली सिँचाइ आयोजना निमार्णको काम अलपत्र

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि पुर्नवास नगरपालिकासम्म सिँचाइ सुविधाका लागि निमार्ण हुन लागेको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम अलपत्र परेको छ ।

आयोजनाको कामले गति लिन नसक्दा एक दशक अगाडि बनाएका संरचना समेत जीर्ण हुँदै गएका छन् । 

महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत भारतले बनाउनुपर्ने डेढ किलोमिटर नहरको काम अन्तिम चरणमा छ तर नेपालतर्फ भने नहर निमार्ण सम्पन्न नहुँदा समस्या भएको छ । 

नहरको १३ किलोमिटर मूल नहर निर्माण बाहेक अन्य निर्माण अघि बढ्न सकेको छैन । 

२०६२÷६३ देखि नहर निर्माणको काम सुरु भए पनि १५ वर्ष बितिसक्दा जम्मा १५ किलोमिटर नहर निर्माण भएको छ  । निर्माण गरेको नगरमा समेत कतै भत्किन थालेको छ भने कतै झाडीले पुरिएको छ । गत वर्ष आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको भए पनि कामले गति लिन सकेको छैन । 

धेरै समय बजेट अभावले काम रोकिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नहर निमार्णका लागि प्रक्रियागत झन्जट र मुआब्जा विवादका कारण कामले गति लिन नसकेको आयोजनाले जनाएको छ । 

भीमदत्त नगरपालिकादेखि कैलालीको माला खेतीसम्म सिँचाइ सुविधा उपलब्ध हुने लक्ष्य लिए पनि उक्त आयोजना कागजमै सीमित भएको हो । 

महाकाली सन्धि अनुसार टनकपुरबाट एक हजार क्युसेक पानी पाउने प्रावधान अनुसार ३३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष्य रहेको भए पनि सुरुवाती अवस्थादेखि बजेट अभावले आयोजना पछि धकेलिँदै आएको छ । 

महाकाली सिचाई आयोजना तेस्रो चरण अन्तर्गत ब्रह्मदेव क्षेत्रमा २९ हजार हेक्टर, चाँदनी दोधारा क्षेत्रमा ३५ हजार हेक्टर, त्रिभुवन वस्ति क्षेत्रमा १९ हजार ६ सय २० हेक्टर र माला खेती क्षेत्रमा ७ हजार४ सय ९० हेक्टर गरी कैलाली कञ्चनपुरको कुल ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध हुनेछ । 

यसअघि शारदा ब्यारेजबाट सञ्चालनमा रहेको महाकाली सिँचाई प्रणालीबाट महेन्द्रनगर तथा बेलडाडी क्षेत्रको करिब ११ हजार ६ सय हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button