सुर्मा गाउँपालिकामा २० परिवार घरबार विहीन
बझाङ । बझाङको सुर्मा गाउँपालिकामा असोज ३१ गतेदेखि झन्डै एक साता भएको अविरल वर्षाका कारण २० परिवार घरबार विहीन भएका छन् ।
५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबै भन्दा क्षति वडा नम्बर ५ मा भएको छ । साता दिनको अविरल वर्षाले सुर्मा गाउँपालिकाका विभिन्न स्थानमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

बाढी पहिरोले गाउँपालिका भरी २० परिवार घरबार विहीन भएका छन् । ५० घर उच्च जोखिममा रहेका छन् भने १ सय ८० घरहरूमा आंशिक क्षति पुगेको छ ।
सुर्मा गाउँपालिकामा ३० वटा खानेपानीका पाइपलाइन बाढी पहिरोले बगाएको छ भने ३ वटा सिँचाई कुलो भत्काएको गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनुभयो ।

गाउँपालिकाले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको स्थलगत अनुगमन गरेको छ । घरबार विहीनहरूका लागि घर टहरा तथा विस्थापित र उच्च जोखिममा रहेका परिवारलाई राहतको व्यवस्थाको लागि प्रदेश सरकारसँग कुराकानी भइरहेको गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्